सरकारविरुद्ध दबाब दिने सीजेपी संस्थापक अभिजीत दिपकेलाई सत्तापक्षकै अफर- ‘गलत गर्नेलाई सजाय दिन्छौँ, पार्टीमा आउनुस्!’

सरकारविरुद्ध दबाब दिने सीजेपी संस्थापक अभिजीत दिपकेलाई सत्तापक्षकै अफर- ‘गलत गर्नेलाई सजाय दिन्छौँ, पार्टीमा आउनुस्!’

एजेन्सी : कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेले निर्वाचन राजनीतिमा प्रवेश नगर्ने र जनताले राजनीति तथा चुनावी व्यवस्थामाथिको विश्वास गुमाइसकेको भनाइ व्यक्त गरिरहेका बेला उनलाई भारतीय जनता पार्टी (बीजेपी) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) मा आबद्ध हुन प्रस्ताव आएको छ। 

सोमबार केन्द्रीय मन्त्री रामदास आठवलेले सीजेपी संयोजक दिपकेलाई डा. बाबासाहेब अम्बेडकरको सपना पूरा गर्नका लागि आफ्नो रिपब्लिकन पार्टी अफ इन्डिया (ए) मा प्रवेश गर्न आग्रह गरेका हुन्। रिपब्लिकन पार्टी अफ इन्डिया (ए) केन्द्रमा बीजेपी नेतृत्वको सत्ताधारी गठबन्धनको एक घटक हो।

पत्रकारहरूसँग कुरा गर्दै मन्त्री आठवलेले भने, "मलाई लाग्छ अभिजीत दिपके एक अम्बेडकरवादी हुन्। उनी सक्रिय र युवा छन्। उनले रिपब्लिकन पार्टी अफ इन्डिया (ए) मा सामेल हुनेबारे विचार गर्नुपर्छ।" 

दिपकेलाई सत्ताधारी पक्षमा आउन आग्रह गर्दै आठवलेले सरकार गलत काम गर्ने जो कोहीलाई सजाय दिने पक्षमा रहेको बताए। 

उनको यो भनाइ गत महिना दिल्लीको जन्तरमन्तरमा भएको सीजेपी तथा विद्यार्थी नेतृत्वको प्रदर्शनतर्फ लक्षित देखिएको छ। उक्त प्रदर्शनपछि निट-यूजी २०२६ को प्रश्नपत्र लिक तथा परीक्षासँग सम्बन्धित अनियमितताको विषयलाई लिएर तत्कालीन केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका थिए।

"हामी यस्तो सरकार हौं जसले गलत काम गर्नेहरूलाई सजाय पाउनुपर्छ भन्ने विश्वास गर्छौं। त्यसैले उनी सत्ताधारी पक्षमा आउनुपर्छ," आठवलेले भने।

राजनीतिमा प्रवेशबारे दिपकेको अडान

सीजेपी संस्थापक दिपकेले मन्त्री आठवलेको यो प्रस्तावमा कुनै प्रतिक्रिया दिएका छैनन्।  यद्यपि, उनले यसअघि नै आफू राजनीतिमा नआउन र सीजेपीलाई एक जनआन्दोलनका रूपमा अघि बढाउन चाहेको स्पष्ट पारिसकेका छन्।  

यसै महिनाको सुरुमा दिपकेले जनताले राजनीति र चुनावी व्यवस्थाप्रतिको विश्वास गुमाइसकेको बताएका थिए। उनले देशलाई नयाँ राजनीतिक दलभन्दा पनि एउटा जनआन्दोलनको आवश्यकता रहेको बताएका थिए।  

समाचार एजेन्सी एएनआईसँगको अन्तर्वार्तामा उनले भनेका थिए, "हाम्रो त्यस्तो कुनै उद्देश्य छैन। ईडी र सीबीआईको प्रयोग गरेर राजनीतिक पार्टीहरू विभाजन गरिएको हामीले देखिरहेका छौँ। निर्वाचनमा मतहरू हटाइँदैछ। यस्तो समयमा जब जनताले राजनीतिमाथिको विश्वास गुमाइसकेका छन्, राजनीतिक दल बनाएर हामी के गर्छौं?"

उनले न्यायपालिका, निर्वाचन प्रणाली र सञ्चारमाध्यमप्रतिको जनविश्वाससमेत कमजोर हुँदै गएको दाबी गरेका थिए। उनले थपे, "जसरी मानिसहरूले न्यायपालिका, चुनावी प्रणाली र मिडियामाथिको विश्वास गुमाउँदैछन्, यो देशलाई एउटा जनआन्दोलनको खाँचो छ।"  

भदौ २, २०८३ मंगलबार १३:५९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।