प्रधानन्यायाधीशको हातबाट डिग्री लिन कानुनका विद्यार्थीद्वारा अस्वीकार, दीक्षान्त समारोहमा ‘नो-इन्ट्री’
एजेन्सी : प्रधानन्यायाधीश सूर्यकान्तका पछिल्ला केही अभिव्यक्तिका कारण भारतका दुई कानुन विश्वविद्यालयका विद्यार्थीले आफ्नो दीक्षान्त समारोहमा उनलाई प्रमुख अतिथिका रूपमा नबोलाउन माग गरेका छन्।
हैदरावादस्थित प्रतिष्ठित कानुन कलेज ‘नालसर युनिभर्सिटी अफ ल’का दर्जनौं विद्यार्थीले कलेज प्रशासनलाई इमेल लेख्दै प्रधानन्यायाधीश सूर्यकान्तलाई दीक्षान्त समारोहमा नबोलाउन माग गरेका हुन्।
१४ सय विद्यार्थी रहेको उक्त विश्वविद्यालयमा यो मागलाई करिब ४५० विद्यार्थीले समर्थन गरिसकेका छन्।
सामान्यतया कानुनका विद्यार्थीका लागि दीक्षान्त समारोहमा देशको सर्वोच्च अदालतका प्रधानन्यायाधीशको उपस्थिति गर्वको विषय मानिन्छ। तर, यसपटक विद्यार्थीहरू उल्टै प्रधानन्यायाधीशविरुद्ध खनिएका छन्।
किन रिसाए विद्यार्थी?
जुलाई २० मा दिल्लीमा ‘कक्रोच जनता पार्टी’(सीजेपी)को नेतृत्वमा संसद् मार्च गरिएको थियो।
त्यस क्रममा प्रहरीले निहत्था विद्यार्थीमाथि लाठीचार्ज र अश्रुग्याँस प्रहार गरेको थियो। भीड नियन्त्रण गर्न पहिलोपटक पेलेट गनसमेत प्रयोग गरिएको थियो, जसबाट ४ जना युवा घाइते भएका थिए।
यो घटनापछि जुलाई २२ मा एक वकिलले प्रहरी दमनको विषयलाई लिएर सर्वोच्च अदालतमा तत्काल सुनुवाइ गर्न माग गरेका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार, त्यतिबेला प्रधानन्यायाधीशले ‘हाम्रो समय बर्बाद नगर’ भन्दै प्रहरी दमनका भिडियो हेर्नसमेत अस्वीकार गरेका थिए।
यद्यपि, पछि उनले आफ्नो कुरालाई गलत रूपमा प्रस्तुत गरिएको र निवेदनलाई रीतपूर्वक दर्ता गर्न मात्र भनेको स्पष्टीकरण दिएका थिए। हाल सर्वोच्च अदालतले यस विषयमा सुनुवाइ गरिरहेको छ।
नालसरका विद्यार्थीहरूले कलेजलाई लेखेको इमेलमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शन गर्ने नागरिकमाथि भएको प्रहरी दमनका गम्भीर आरोपहरूलाई बेवास्ता गर्ने व्यक्तिबाट हामीले डिग्री लिनु हाम्रो कलेजमा सिकेका मूल्यमान्यताविपरीत हुन्छ।’
बार काउन्सिलको धम्की र माफी
विद्यार्थीले विरोध गरेपछि भारतको बार काउन्सिलका अध्यक्ष एवं सत्तारुढ भाजपाका सांसद मननकुमार मिश्रले नालसरका विद्यार्थीलाई वकिलको रूपमा दर्ता हुन नदिने धम्की दिए। उनले प्रधानन्यायाधीशविरुद्ध अभियान चलाउने विद्यार्थीको सूचीसमेत कलेजसँग मागेका थिए।
तर, यसको सर्वत्र विरोध भयो। प्रधानन्यायाधीश सूर्यकान्त आफैँले ‘विद्यार्थीलाई विरोध गर्ने अधिकार भएको र यसमा बार काउन्सिलले हस्तक्षेप गर्न जरुरी नभएको’ बताए। त्यसपछि मिश्र आफ्नो निर्णयबाट पछि हटे र विद्यार्थीसँग सार्वजनिक रूपमै माफी मागे।
तर विद्यार्थीको आक्रोश रोकिएन। लगत्तै बैंगलुरुस्थित अर्को कानुन कलेज नेसनल ल स्कुल अफ इन्डिया युनिभर्सिटीका विद्यार्थी र पूर्वविद्यार्थीले खुला पत्र लेख्दै नालसरका विद्यार्थीलाई समर्थन गरे। उनीहरूले पनि आफ्नो दीक्षान्त समारोहमा प्रधानन्यायाधीश सूर्यकान्त र बार काउन्सिलका अध्यक्ष मिश्रलाई नबोलाउन माग गरेका छन्।
प्रधानन्यायाधीशको त्यो टिप्पणी
विद्यार्थीको यो आक्रोशको जरो गत मे महिनामै जोडिएको छ। त्यतिबेला प्रधानन्यायाधीश सूर्यकान्तले अदालतमा बोल्ने क्रममा बेरोजगार युवालाई ‘कक्रोच’ र ‘परजीवी’को संज्ञा दिएका थिए।
‘केही युवाहरू कक्रोचजस्ता छन्, जसले रोजगारी पाउँदैनन्। कोही मिडिया बन्छन्, कोही सामाजिक सञ्जालमा लाग्छन्, कोही आरटीआई अभियन्ता बन्छन् र जथाभावी आक्रमण गर्न थाल्छन्’, उनले भनेका थिए।
चौतर्फी आलोचना भएपछि उनले नक्कली डिग्री बोक्नेहरूलाई मात्र त्यसो भनेको प्रस्टीकरण दिएका थिए। तर, यो टिप्पणीले युवालाई यति चिढ्यायो कि उनीहरूले ‘कक्रोच जनता पार्टी (सीजेपी)’ नामक व्यंग्यात्मक अनलाइन अभियान नै सुरु गरे, जसमा लाखौँ युवा जोडिए।
औपचारिक राजनीतिक दल नभए पनि सीजेपीले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई पछिल्लो समयकै सबैभन्दा ठूलो चुनौती दिएको छ।
लगातारको परीक्षा प्रश्नपत्र लिक प्रकरणमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म यो समूहले दिल्लीमा हप्तौंसम्म आन्दोलन गरेको थियो। अन्ततः जुलाई २५ मा शिक्षा मन्त्रीले राजीनामा दिएपछि मात्रै उनीहरूको आन्दोलन रोकिएको थियो।
भदौ २, २०८३ मंगलबार ११:५०:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।