सर्वोच्चको आदेशपछि रिहा भए जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ
काठमाडौं : वैयक्तिक गोपनीयता हननको अभियोगमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ सोमबार राति रिहा भएका छन्। सर्वोच्च अदालतले उनलाई हिरासतमुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन्।
रिहा भएपछि उनले भने, 'जबसम्म जीवित छु। सत्य लेख्न डराउँदिनँ।' आफ्नो पक्राउलाई श्रेष्ठले पेशागत धर्म निर्वाह गर्ने क्रममा राज्यले लिएको 'बदलाको कारबाही' भनेका छन्। जनआस्थाले लेखेका समाचारहरू गलत भएमा खण्डन गर्नसमेत उनले चुनौती दिए।
श्रेष्ठको श्रीमतीको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइको क्रममा न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले श्रेष्ठलाई हिरासतमुक्त गर्न र उनको घर र कार्यालयबाट बरामद गरिएका विद्युतीय उपकरणहरू फिर्ता दिन अदालतले आदेश दिएको थियो।
मिडियामा प्रकाशित समाचारको विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार भए पनि प्रहरीले जाहेरी दर्ता गरेर श्रेष्ठलाई पक्राउ गरेको थियो। जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राख्न म्याद दिएको थियो।
आकस्मिक पक्राउ पुर्जीको आधारमा किशोरलाई पक्राउ गरे लगत्तै प्रहरीले उनको घर अनि कार्यालयमा छापा मारेर ब्यक्तीगत र कार्यालय प्रयोजनका मोबाइल, ल्यापटप र कम्प्युटर नियन्त्रणमा लिएको थियो।
भदौ १, २०८३ सोमबार २१:५६:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।