केन्द्रको सहमतिअनुसार कोशी सरकारमा थपिए चार मन्त्री र एक राज्यमन्त्री
विराटनगर : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)सँग प्रदेश सभामा सहकार्य गर्दै सरकार गठन गर्ने केन्द्रमा भएको सहमति अनुसार कोशी प्रदेशमा नियुक्त भएका मन्त्रीहरूले शपथ ग्रहण गरेका हुन्। कोशीमा अहिले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री छन्।
केन्द्रमा भएको सहमति अनुरूप कार्कीले आफ्नो मन्त्रीपरिषद्मा चार मन्त्री र एक राज्यमन्त्री नियुक्तिको लागि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिस गरेका थिए। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
मुख्यमन्त्री कार्कीको नेतृत्वमा २०८१ वैशाख २७ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त, हेरफेर र कार्य विभाजन हुने गरी आवश्यक व्यवस्थाका लागि भएको सिफारिसअनुसार मन्त्री र राज्य मन्त्री नियुक्त गरिएको थियो।
प्रदेश प्रमुख खापुङ समक्ष खिनु लङवा लिम्बूले पर्यटन, वन तथा वातावरण, जीवन आचार्यले भौतिक पूर्वाधार, गोम्बू शेर्पाले आन्तरिक मामिला तथा कानुन र गीता तिम्सिनाले सामाजिक विकासमन्त्रीको शपथ लिएका हुन्। यस्तै सपना दर्जीले मुख्यमन्त्री कार्कीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको शपथ लिइन्।
भदौ १, २०८३ सोमबार १९:१२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।