मोदी सरकारसँग योगगुरु रामदेव रुष्ट, विद्यार्थीका समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी

मोदी सरकारसँग योगगुरु रामदेव रुष्ट, विद्यार्थीका समस्या समाधान नगरे आन्दोलन गर्ने चेतावनी

एजेन्सी : योगगुरु रामदेवले शिक्षा तथा सरकारी भर्ना परीक्षामा देखिएका अनियमिततालाई लिएर विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनका विषयमा नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारलाई चेतावनी दिएका छन्।

उनले देशमा भइरहेका 'घोटाला' हरू चाँडै समाधान नगरिए विद्यार्थी आन्दोलन अझ चर्कने र स्वयं आफूले पनि पुनः आन्दोलन सुरु गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।  

भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा शनिबार हरिद्वारस्थित पतञ्जलि योगपीठमा सञ्चारकर्मीसँग कुरा गर्दै रामदेवले विद्यार्थीहरूले विद्यालय तथा कलेजमा शिक्षक, पानी र बिजुली र शौचालय जस्ता आधारभूत सुविधासमेत नपाएको भन्दै विरोध गरिरहेको बताए। उनले केही स्थानमा परीक्षामा चिटिङ हुने गरेको र कतिपय ठाउँमा प्रश्नपत्र चुहावट भइरहेको आरोप पनि लगाए।

रामदेवले सरकारी जागिरको छनोट प्रक्रियामा भ्रष्टाचार र पैसाको प्रभाव रहेको दाबी गरे। उनका अनुसार सरकारी जागिरका अन्तर्वार्तामा भ्रष्टाचारको अवस्था ९९ प्रतिशतसम्म रहेको छ। उनले जाति र धर्मका आधारमा छनोट भइरहेको आरोप लगाउँदै यस्तो अवस्था संविधानविपरीत र अत्यन्त आपत्तिजनक भएको बताए।

उनले भने, "देशैभरि भद्रगोलको स्थिति छ। विद्यालयमा शिक्षक छैनन् भनेर बालबालिकाहरूले गुनासो गरिरहेका छन्। बिजुली, पानी र शौचालय जस्ता आधारभूत सुविधाहरू गायब छन्। कतै परीक्षामा धाँधली र चोरी भइरहेको छ भने कतै प्रश्नपत्र लिक भइरहेका छन्। सरकारी नौकरीका अन्तर्वार्ताहरूमा ९९ प्रतिशतसम्म भ्रष्टाचार व्याप्त छ। जात र धर्मका आधारमा छनोट भइरहेको छ, जुन अत्यन्तै अपमानजनक र संविधानविपरीत छ।"  

रामदेवले सरकारी भर्तीमा ठूलो रकम घुसका रूपमा मागिने गरेको दाबीसमेत गरे। 

उनले थप भने, "एकातर्फ हामी 'सत्यमेव जयते' र 'यतो धर्मस्ततो जयः' को नारा लगाउँछौँ, अर्कोतर्फ १ करोड रुपैयाँसम्मको घुस दिएपछि मात्र नियुक्तिहरू भइरहेका छन्। यदि सबैले आन्दोलन सुरु गरे भने देश कसरी चल्छ? त्यसैले आफ्नो रवैया सुधार्नुहोस्, नत्र यो आन्दोलन अझ चर्कनेछ।"  

पुनः आन्दोलन गर्ने चेतावनी

सरकारले यी समस्याहरू तत्काल समाधान गर्नुपर्ने बताउँदै रामदेवले अन्यथा आफू स्वयम् प्रदर्शनमा उत्रिने समेत बताए।

 "म विरोधको नाममा अराजकता र कानुनहीनताको समर्थन गर्दिनँ। तर देशमा धेरै घोटालाहरू भइरहेका छन् भन्ने कुरालाई नकार्न सकिँदैन। कृपया यो समस्या समाधान गर्नुहोस्, नत्र बाबा रामदेवले पुनः आन्दोलन गर्नुपर्ने हुन्छ," उनले चेतावनी दिए।

उनको यो भनाइ सन् २०११ मा दिल्लीको रामलीला मैदानमा भएको भ्रष्टाचारविरोधी आन्दोलनतर्फ लक्षित थियो, जुन प्रहरीको हस्तक्षेपपछि अन्त्य भएको थियो।  

जातीय र धार्मिक विद्वेषप्रति चिन्ता

भारतीय नागरिकहरूबीच बढ्दै गएको जातीय र सामाजिक दूरीप्रति पनि रामदेवले आपत्ति जनाए। उनले राजनीतिक तथा जातीय आधारमा भारतीयहरू एकअर्काप्रति घृणा र वैरभाव राख्न थालेको भन्दै त्यसको निन्दा गरे।

"राजनीति र जातका आधारमा एक-अर्काप्रति घृणा फैलाउनेहरूको म घोर भत्सर्ना गर्दछु। ब्राह्मण, क्षत्री, वैश्य, शूद्र, दलित, आदिवासी, वनवासी, हिन्दु, मुस्लिम, सिख, इसाई, जैन र बौद्धहरू एक-अर्काविरुद्ध यसरी उभिएका छन्। मानौँ उनीहरू एक-अर्काको रगतका प्यासा हुन्," उनले भने।  उनले अगाडि थपे, "हामीले देशभर व्याप्त घृणाका यी पर्खालहरू ढाल्नै पर्छ।"

“म विरोधका नाममा अराजकता र कानुनविहीनताको समर्थन गर्दिनँ,” भन्दै उनले युवाहरूलाई सडकमा हिंसा फैलाउने गतिविधिबाट टाढा रहन आग्रह गरे। उनका अनुसार युवाहरूले आफ्ना अधिकारका लागि आवाज उठाउनुपर्छ, तर त्यसका लागि संविधान र कानुनको मर्यादा कायम राख्नुपर्छ।

“ हामीले आपसमा लड्नु हुँदैन। बालबालिका र युवाहरू आपसमा लड्नु हुँदैनन्। जेनजी लडाकु बन्नका लागि होइन। उनीहरू सडकमा कानुनविहीनता र अराजकता फैलाउन निस्कनु हुँदैन। हो, हामीले आफ्ना अधिकारका लागि लड्नुपर्छ र आफ्ना कर्तव्य पूर्ण रूपमा पूरा गर्नुपर्छ, तर त्यस क्रममा लोकतान्त्रिक तथा संवैधानिक सीमालाई ध्यानमा राख्नुपर्छ,” उनले भने।

भदौ १, २०८३ सोमबार १६:४१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।