१ लाख ८० हजार बढीले गरे नाइमा एक्स्पो अवलोकन, सुस्ताएको अटो बजारमा उत्साह र माग विस्तारको संकेत

१ लाख ८० हजार बढीले गरे नाइमा एक्स्पो अवलोकन, सुस्ताएको अटो बजारमा उत्साह र माग विस्तारको संकेत

काठमाडौं : सुस्त रहेको भनिएको नेपालको अटोमोबाइल तथा मोबिलिटी बजारमा ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ ले नयाँ आशा जगाएको छ। अपेक्षाभन्दा बढी दर्शकको सहभागिता, उत्साहजनक बुकिङ तथा इन्क्वायरीका कारण अटो बजारमा माग विस्तार हुने बलियो संकेत देखिएको छ।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ६ दिने एक्स्पोमा कुल एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी भए। आयोजकले एक लाख ५० हजार दर्शकको अनुमान गरे पनि अपेक्षाभन्दा ३० हजार बढी मानिस मेलामा पुगेका हुन्।

ठूलो संख्यामा उपभोक्ताको सहभागिता र सवारीसाधन खरिदप्रतिको चासोले आगामी दिनमा अटो बजारको कारोबार बढ्न सक्ने संकेत गरेको व्यवसायीहरूले बताएका छन् ।

एक्स्पोको समापनका दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेका थिए। पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौं दिन ४२ हजारभन्दा बढी अवलोकनकर्ता आएका थिए।

एक्स्पोमा मानिसको उपस्थिति मात्र नभई सवारीसाधन खरिदका लागि भएको इन्क्वायरी र बुकिङसमेत अपेक्षाभन्दा राम्रो भएको आयोजकको भनाइ छ। अटो शो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले एक्स्पोमा अपेक्षाभन्दा धेरै अवलोकनकर्ता आएको र सोहीअनुसार इन्क्वायरी तथा बुकिङ पनि राम्रो भएको बताए।

‘हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ‘सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ ।’ अटोमोबाइल व्यवसायीका लागि एक्स्पोमा देखिएको उपभोक्ता चासो बजारको माग बुझ्ने महत्वपूर्ण आधार बनेको उनको भनाइ छ।

नयाँ उत्पादनले बढायो प्रतिस्पर्धा

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्ड सहभागी भएका थिए भने ५३ वटा नयाँ उत्पादन सार्वजनिक गरिएको थियो। नयाँ मोडल र प्रविधि एकै स्थानमा प्रदर्शन भएपछि उपभोक्ताले विभिन्न ब्रान्डका सवारीसाधन तुलना गर्ने अवसर पाएका थिए।

विशेषगरी विद्युतीय सवारीसाधन, नयाँ प्रविधि, चार्जिङ पूर्वाधार तथा मोबिलिटी समाधानमा केन्द्रित प्रदर्शनीले नेपालको अटो बजार परम्परागत सवारीसाधनबाट नयाँ प्रविधितर्फ संक्रमण भइरहेको संकेत गरेको छ।

नाइमा अध्यक्ष रितु सिंह वैद्यले ठूलो संख्यामा उपभोक्ताको सहभागिता र नयाँ उत्पादनको सार्वजनिक हुनु एक्स्पोको प्रमुख उपलब्धि भएको बताइन्। उनका अनुसार एक लाख ८० हजारभन्दा बढी मानिस एक्स्पोमा आउनु नाइमा जस्तो संस्थाका लागि ठूलो उत्साह र प्रोत्साहन हो।

उपभोक्ता चासोले बजारको सम्भावना बढयो

अटोमोबाइल बजारमा बिक्रीको गति, आयात, वित्तीय सुविधा तथा उपभोक्ताको क्रयशक्तिले कारोबार निर्धारण गर्ने भए पनि एक्स्पोमा देखिएको भीडले सवारीसाधनप्रतिको चासो कमजोर नभएको देखाएको व्यवसायीहरूको बुझाइ छ। नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले एक्स्पोमा ठूलो संख्यामा मानिसको आगमन हुनु अटो उद्योगका लागि सुखद संकेत भएको बताए।

त्यस्तै नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोको समग्र सफलतालाई ‘सुपरहिट’ भएको बताए।

प्रदर्शनीसँगै बजार अध्ययनको अवसर

नाइमा एक्स्पोमा बिक्री र बुकिङका अतिरिक्त उपभोक्ताको रुचि, मूल्य संवेदनशीलता, नयाँ प्रविधिप्रतिको आकर्षण र ब्रान्ड छनोटको प्रवृत्तिबारे व्यवसायीले प्रत्यक्ष जानकारी लिने अवसर पाएका छन्।

नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पोलाई सवारीसाधन प्रदर्शन गर्ने थलो मात्र नभई ज्ञान, सहकार्य र मागकेन्द्रित व्यवस्थापनको प्लेटफर्मका रूपमा विकास गरिएको बताए। नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पोले अटोमोबाइल व्यवसायलाई नयाँ प्रविधि र बदलिँदो उपभोक्ता मागसँग जोड्ने प्रयास गरेको छ।

एक्स्पोमा देखिएको उपभोक्ता सहभागिता, नयाँ उत्पादनप्रतिको चासो तथा बुकिङले आगामी दिनमा अटोमोबाइल बजारमा थप प्रतिस्पर्धा र नयाँ लगानीको सम्भावना बढाउने अपेक्षा व्यवसायीहरूले गरेका छन्।

भदौ १, २०८३ सोमबार १३:४६:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।