विद्युत् प्रवाहको हल्लाले बिहारको अशोकधाम मन्दिरमा भागदौड: ७ महिलाको मृत्यु, १२ घाइते

विद्युत् प्रवाहको हल्लाले बिहारको अशोकधाम मन्दिरमा भागदौड:  ७ महिलाको मृत्यु, १२ घाइते

एजेन्सी : भारतको बिहारस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोक धामस्थित इन्द्रदमनेश्वर शिव मन्दिरमा सोमवार बिहान भागदौड मच्चिँदा कम्तीमा सात जना महिलाको मृत्यु भएको छ भने १२ भन्दा बढी घाइते भएका छन्।

साउन महिनाको तेस्रो सोमबारका अवसरमा पूजाअर्चना गर्न भेला भएका हजारौँ श्रद्धालुको अत्यधिक भीडका कारण अवस्था नियन्त्रणबाहिर गएको अधिकारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। 

मुख्यमन्त्रीद्वारा राहतको घोषणा
बिहारका मुख्यमन्त्री सम्राट चौधरीले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट प्रतिपरिवार ४ लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन्। साथै, घाइतेहरूको नि:शुल्क र शीघ्र उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिइएको उनले बताएका छन्।

घटना कसरी भयो?
स्थानीय प्रशासनका अनुसार बिहान करिब ६:४० बजे मन्दिर परिसरमा भागदौड सुरु भएको थियो। लखीसरायका जिल्ला अधिकारी (डीएम) शैलेन्द्र कुमारका अनुसार मन्दिर जाने श्रद्धालुको ६ किलोमिटर लामो लाइन आशोकधाम हल्टसम्म पुगेको थियो। उक्त स्थानमा स्थानीय रेलहरू पनि रोकिने गर्छन्।

सोही क्रममा दुईवटा रेल हाल्टमा आएर रोकिँदा झनै भीड बढ्यो। त्यसैबेला पुरुषको लाइनतर्फ रहेको एउटा बिजुलीको पोल अचानक ढल्यो। पोल ढलेपछि  त्यहाँ रहेका मानिसबीच 'करेन्ट प्रवाह भइरहेको नाङ्गो तार (लाइभ वायर) खस्यो' भन्ने अफवाह फैलियो। यद्यपि प्रशासनका अनुसार त्यो केवल केबल (टेलिफोन/टिभी) को तार मात्र थियो।

अफवाह फैलिएपछि त्रसित भएका मानिसहरू आत्तिएर देब्रेपट्टि रहेको महिलाको लाइनतर्फ भाग्न खोज्दा अत्यधिक चाप पर्न गयो। जसकारण महिलाहरू एक-अर्कामाथि लडेर च्यापिए।

प्रशासन भन्छ 'युवाको हुलमुल', प्रत्यक्षदर्शी भन्छन् 'असुरक्षित व्यवस्थापन'
घटनाको कारणबारे लखीसरायका डीएम शैलेन्द्र कुमारले मन्दिरमा ठूलो भीड जम्मा भएका बेला केही युवाले ब्यारिकेड भत्काउँदै अगाडि बढ्न खोजेपछि भीडमा दबाब बढेको थियो।

तर, घटनास्थलमा रहेका प्रत्यक्षदर्शीहरूले प्रशासनको उक्त भनाइसँग असहमति जनाएका छन्। उनीहरूका अनुसार कमजोर भीड व्यवस्थापन र सुरक्षाको फितलो प्रबन्धका कारण  भागदौडको अवस्था सिर्जना भएको हो।

अत्यधिक गर्मी र गुम्स्याहटले धेरै अस्वस्थ
भागदौडमा घाइते तथा अस्वस्थ भएका श्रद्धालुलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको थियो। जिल्ला प्रशासन र प्रहरी टोली घटनास्थलमै रहेर भीड व्यवस्थापन तथा थप अप्रिय घटना हुन नदिन परिचालन भएका थिए। डीएम कुमारले अस्पताल लगिएका केही व्यक्तिलाई गम्भीर चोट लागेको भन्दा पनि अत्यधिक  गर्मी र भीडभाडका कारण निसास्सिएर स्वास्थ्य समस्या भएको बताएका छन्। डीएम कुमारका अनुसार घाइते तथा बिरामी परेका सबैको अवस्था अहिले खतरामुक्त रहेको छ।

आइतबार रातिदेखि नै उर्लिएको थियो ५० हजारको भीड
धार्मिक मान्यताअनुसार साउनको तेस्रो सोमबार शिवजीको जलभिषेक गर्नका लागि आइतबार रातिदेखि नै मन्दिर परिसरमा भक्तजनहरूको घुइँचो लाग्न थालेको थियो। मन्दिरमा करिब ५० हजारभन्दा बढी श्रद्धालु पुगेका थिए। भीड बढ्दै जाँदा मन्दिर प्रवेश गर्ने लाइन करिब छ किलोमिटरभन्दा बढी लामो भएको थियो।

दर्शनका लागि लाइनमा उभिएका भक्तजनहरूलाई मन्दिरभित्र प्रवेश गर्न सरदर चार घण्टाभन्दा बढी समय लागिरहेको थियो।

घटनास्थलमा खटिएका एक प्रहरी अधिकारीका अनुसार लामो समयसम्म लाइनमा बस्नुपरेपछि भीडमा अधैर्य बढ्दै गएको थियो। त्यस क्रममा केही श्रद्धालुबीच धकेलाधकेल हुन थालेपछि भागदौडको स्थिति सिर्जना भएको थियो।

घटनापछि लखीसराय जिल्ला प्रशासन र प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिई थप अप्रिय घटना हुनबाट रोकेको छ। हाल मन्दिर परिसरको अवस्था सामान्य रहेको छ।

भदौ १, २०८३ सोमबार १३:२८:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।