ललितपुर महानगरद्वारा चिकित्सक र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सुरु, १५ मिनेटमै घर पुग्ने

ललितपुर महानगरद्वारा चिकित्सक र भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा सुरु, १५ मिनेटमै घर पुग्ने

ललितपुर : ललितपुर महानगरपालिकाले सूचना पाएको १५ मिनेटभित्रै बिरामीको घरमै पुगेर स्वास्थ्य सेवा दिने गरी चिकित्सकसहितको सुविधासम्पन्न एम्बुलेन्स सेवा सुरु गरेको छ।

महानगरले हाल पाँचवटा एम्बुलेन्समार्फत यो सेवा सञ्चालनमा ल्याएको हो। एम्बुलेन्सहरूमा अक्सिजन, एम्बुब्याग, आकस्मिक औषधि, भेन्टिलेटर तथा आवश्यक स्वास्थ्य उपकरणसहित चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ।

महानगरप्रमुख चिरीबाबु महर्जनका अनुसार अस्पताल पुर्याउनुअघि नै बिरामीलाई प्रारम्भिक र आकस्मिक उपचार उपलब्ध गराउने उद्देश्यले यो कार्यप्रणाली सुरु गरिएको हो।

उनले भने, ‘सूचना पाएको १५ मिनेटभित्रै चिकित्सकसहितको टोली बिरामीको घर पुग्नेछ। प्राथमिक उपचारपछि थप उपचारका लागि बिरामीलाई तत्काल अस्पताल लैजानसमेत टोलीले सहयोग गर्नेछ।’

सिटिनेटको सदस्यका रूपमा फिलिपिन्सको माकाटी सहर भ्रमण गर्दा त्यहाँ यस्तो अभ्यास सफल भएको देखेपछि ललितपुरमा पनि कार्यविधि बनाएर सेवा थालिएको प्रमुख महर्जनले जानकारी दिए।

‘पैसा र जनशक्ति भएर मात्रै यो सम्भव भएको होइन, सिकेका असल अभ्यासलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप हामीले यो सेवा सुरु गरेका हौँ’, उनले थपे।

सेवाको शुभारम्भ गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ललितपुर महानगरको यो कदम राष्ट्रिय गौरवको विषय भएको बताइन्।

विश्वका सीमित देशहरूले मात्र यस्तो अभ्यास गरिरहेको उल्लेख गर्दै मन्त्री मेहताले भनिन्, ‘एम्बुलेन्समा डाक्टर र अत्यावश्यक मेडिकल उपकरणसहित सेवा दिनु चुनौतीपूर्ण भए पनि निकै प्रशंसनीय कार्य हो। नागरिकको हितमा हुने यस्ता काममा मन्त्रालयले आवश्यक सहजीकरण गर्नेछ।’

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले देशभरका स्थानीय सरकारका लागि यो सेवा अनुकरणीय भएको बताइन्।

त्यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. नवीसमान सिंह प्रधानले अस्पताल पूर्वको यस्तो निःशुल्क आकस्मिक सेवाले महानगरवासीको ज्यान जोगाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।

भदौ १, २०८३ सोमबार १३:०९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।