लुम्बिनीका मुख्यमन्त्रीको विश्वासको मत : एमाले संसदीय दलको कार्यालयमा सरकार समर्थित सांसदहरूको भेला
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहँदा सरकारलाई समर्थन गर्ने दलका सांसदहरू एमालेको संसदीय कार्यालयमा भेला भएका छन्।
एमालेसहित सरकारको पक्षमा रहेका नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चा लगायत दलका सांसदहरू एमाले कार्यालयमा जुटेर सामूहिक रूपमा प्रदेश सभा बैठकमा जाने तयारी गरेका हुन्।
सांसदहरूको उपस्थितिसँगै मुख्यमन्त्री आचार्यको पक्षमा आवश्यक बहुमत जुटेको एक एमाले सांसदको दाबी छ।
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभाबाट आजै विश्वासको मत लिन लागेका हुन्।
सरकारलाई विश्वासको मत दिलाउन एमालेसहित सरकारमा सहभागी दलहरूबीच यसअघि नै आवश्यक समन्वय गरिएको थियो।
एमाले कार्यालयमा भएको छलफलमा प्रदेश सभा बैठकमा सरकारको पक्षमा मतदान गर्ने विषयमा सांसदहरूबीच सहमति भएको छ।
भदौ १, २०८३ सोमबार १२:५८:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।