भारतको पश्चिम बंगालस्थित एक होटलमा भीषण आगलागी, ६ जनाको मृत्यु, १२ घाइते

भारतको पश्चिम बंगालस्थित एक होटलमा भीषण आगलागी, ६ जनाको मृत्यु, १२ घाइते

कोलकाता : भारतको पश्चिम बंगालस्थित बीरभूम जिल्लाको तारापीठमा रहेको एक होटलमा सोमबार बिहान भीषण आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। घटनामा अन्य धेरै व्यक्ति गम्भीर घाइते भएका छन्।

बीरभूमका अतिरिक्त प्रहरी उपरीक्षक नीलेश श्रीकान्त गायकवाडका अनुसार आगलागीमा परी हालसम्म ६ जनाको ज्यान गएको पुष्टि भएको छ।

घाइतेमध्ये १२ जनालाई उपचारका लागि स्थानीय रामपुरहाट अस्पतालमा भर्ना गरिएको छ। स्थानीय बासिन्दाले ७ जनाको मृत्यु भएको दाबी गरे पनि प्रहरीले हालसम्म सातौँ व्यक्तिको मृत्युको औपचारिक पुष्टि गरेको छैन।

आगलागीको सूचना पाउनासाथ दमकलका गाडीहरू घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएका थिए। आगलागीपछि होटलमा व्यापक राहत तथा उद्धार कार्य सञ्चालन गरिएको थियो।

घटनापछि प्रहरीले होटल सञ्चालक कल्याण पाललाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

भदौ १, २०८३ सोमबार ११:३९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।