‘राष्ट्रिय घर निर्माण फेस्ट’को टाइटल स्पोन्सरमा ‘नेक्सटाइल्स’, पुस ९ देखि भृकुटीमण्डपमा मेला हुने
काठमाडौं : आगामी पुस ९ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने तेस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट-२०८३’ को मुख्य प्रायोजकमा ‘नेक्सटाइल्स’ जोडिएको छ।
यस सम्बन्धमा उत्पादक पशुपति सेरामिक्स र आयोजक घर निर्माण फाउन्डेसनबीच सम्झौता भएको छ।
पशुपति सेरामिक्सले चाँडै नेपाली बजारमा ल्याउन लागेको ‘नेक्सटाइल्स’ १०० प्रतिशत भिट्रिफाइड टायलको प्रिमियम ब्रान्ड हो।
घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर तथा आर्किटेक्टहरूलाई एउटै प्लेटफर्ममा जोड्ने उद्देश्यले आयोजना हुन लागेको मेलामा यस वर्ष २०० भन्दा बढी स्टल रहनेछन्।
साथै, देश-विदेशमा रहेका दर्शकसम्म पहुँच पुर्याउन पहिलो पटक ‘डिजिटल फेस्ट’को अवधारणासहित छुट्टै स्टुडियो बनाएर मेलाका गतिविधि टेलिभिजन र सामाजिक सञ्जालबाट प्रत्यक्ष प्रसारण गरिनेछ।
ट्राइनोक्स ग्लोबलको सहकार्यमा हुन लागेको यस फेस्टका लागि हालसम्म ६० प्रतिशत स्टल बुकिङ भइसकेको छ। मेलामा ४ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
भदौ १, २०८३ सोमबार ११:१७:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।