लुम्बिनी सरकारलाई दिएको समर्थन जसपा नेपालद्वारा फिर्ता, मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्विप

लुम्बिनी सरकारलाई दिएको समर्थन जसपा नेपालद्वारा फिर्ता, मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्विप

बुटवल : जनता समाजवादी पार्टी (जसपा), नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ।

पार्टीले एमालेका नेता एवं मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा रहेको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

जसपा नेपालका महासचिव डा. सुरेन्द्र कुमार झाद्वारा जारी पत्रमार्फत लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोष कुमार पाण्डेय तथा प्रदेशसभा सदस्यहरूलाई सरकारलाई दिएको समर्थन भदौ १ गतेदेखि नै लागू हुने गरी फिर्ता लिइएको जानकारी गराइएको छ।

साथै, पार्टी केन्द्रीय कार्यालयले मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट लिन लागेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सम्पूर्ण प्रदेशसभा सदस्यहरूलाई ह्विप समेत जारी गरेको छ।

कुल ८३ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्री आचार्यले आजै विश्वासको मत लिने कार्यसूची छ।

सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गर्न आवश्यक बहुमतभन्दा बढी प्रदेश सभा सदस्यको समर्थन जुटाउने गरी तयारी गरेका छन्।

भदौ १, २०८३ सोमबार १०:२७:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।