लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उनले विश्वासको मत लिन लागेका हुन्।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार दिउँसो १ बजे बस्ने प्रदेशसभाको आठौँ अधिवेशनको उन्नाइसौँ बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनेछन्।

बैठकको सुरुमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउनेछन्। त्यसपछि मुख्यमन्त्री आचार्यले संसद्मा वक्तव्य दिँदै आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ।

उक्त प्रस्ताव पेस भएसँगै संसद्मा त्यसमाथि छलफल सुरु हुनेछ। छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्रीले जवाफ दिएपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार टिकाइराख्न आवश्यक बहुमतका लागि ४२ जना सांसदको समर्थन चाहिन्छ।

मुख्यमन्त्री आचार्यले भने आफूले आवश्यक बहुमतभन्दा बढी सांसदको समर्थन जुटाउने गरी तयारी गरेको बुझिएको छ।

भदौ १, २०८३ सोमबार ०९:१२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।