यो सास्ती कहिलेसम्म ?
काठमाडौं : पर्याप्त मात्रामा नियमित ग्यास आपूर्ति भइरहेको नेपाल आयल निगमले दाबी गरे पनि बजारमा भने खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ। ग्यास पाउन छाडेपछि एक सिलिन्डर ग्यासका लागि हप्तौंदेखि सर्वसाधारण चर्को घाममा घण्टौंसम्म लाइन बस्न बाध्य भएका छन्।
बजारको अभाव पूर्ति गर्न सरकारले जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न केन्द्र तोकेर ग्यास बिक्रीवितरण सुरु गरेको छ। निगमले साउन १६ गतेदेखि टेकुस्थित आफ्नै परिसरबाट ग्यास वितरण सुरु गरेको थियो भने त्यसपछि शनिबार ५ र आइतबार ७ वटा स्थानमा बिक्री केन्द्र तोकेको थियो।

आइतबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय क्षयरोग केन्द्र (ठिमी), टेकुस्थित निगम परिसर, पशु सेवा शाखा (चपली-बुढानीलकण्ठ), नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर र चन्द्रागिरि नगरपालिका कार्यालयबाट ग्यास वितरण गरिएको छ।
यसअघि शनिबार निगमको टेकु परिसर, यातायात कार्यालय परिसर (चाबहिल), राधास्वामी केन्द्र (कीर्तिपुर), वसुन्धरा परिसर र पुरानो जिल्ला प्रशासन कार्यालय भवनबाट ग्यास वितरण गरिएको थियो।

आइतबार ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रमा नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ग्यास बिक्री गर्ने सूचना पाएपछि सर्वसाधारण बिहानैदेखि लाइनमा बसेका थिए। मध्यान्हसम्म लाइन गट्ठाघरस्थित साझा पेट्रोल पम्पसम्म पुगेको थियो। सरकारले एक सिलिन्डर ग्यास प्राप्त गर्न नागरिकता वा राष्ट्रिय परिचय पत्रको प्रतिलिपि अनिवार्य पेस गर्नुपर्ने बाध्यात्मक व्यवस्था लागू गरेको छ।







साउन ३१, २०८३ आइतबार १९:१२:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।