पेय पदार्थमा गाँजा मिसाएर १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, भिडियो बनाएर भाइरल गराउने नाबालकसहित तीन जना नियन्त्रणमा
एजेन्सी : भारतको मुम्बईमा आफ्नै १६ वर्षीया साथीलाई पेय पदार्थमा गाँजा तथा नशालु पदार्थ मिसाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ। घटनाको भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एक जना १६ वर्षीय किशोरलाई समेत नियन्त्रणमा लिएर बाल कल्याण समितिसमक्ष पेश गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा २० र २१ वर्षका दुई युवक रहेका छन्।
हिंदुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार गत डिसेम्बर महिनामा पीडित किशोरीको आफ्नो बुबासँग भनाभन भएपछि तनावमा थिइन्। तनावमा परेर उनले आफ्ना साथीहरूसँग सम्पर्क गरेकी थिइन्। त्यसपछि आरोपीहरूले उनलाई एउटा साइकल ट्रयाकमा लगे। त्यहाँ उनीहरूले किशोरीको चिसो पेय पदार्थमा नशालु पदार्थ र गाँजा मिसाएर पिउन दिए। जसका कारण किशोरीको स्वास्थ्य अवस्था बिग्रिएको थियो।
प्रहरीका अनुसार किशोरी अचेत भएपछि दुई वयस्क आरोपीहरूले उनको अवस्थाको फाइदा उठाउँदै बलात्कार गरेका थिए। सोही क्रममा उनीहरूसँगै रहेका १६ वर्षीय नाबालकले आफ्नो मोबाइल फोनमा घटनाको भिडियो रेकर्ड गरेका थिए।
बलात्कारपछि आरोपीहरूले घटनाबारे कसैलाई बताएमा गम्भीर परिणाम भोग्नुपर्ने भन्दै किशोरीलाई धम्की दिएको प्रहरीले जनाएको छ। डर र त्रासका कारण घर फर्किएकी किशोरीले यसबारे कसैलाई केही बताउन सकेकी थिइनन्।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि घटना बाहिरियो
हालै उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मात्र घटना सार्वजनिक भएको हो। किशोरीका परिवारले सामाजिक सञ्जालमा भिडियो देखेपछि उनीसँग सोधपुछ गरेका थिए। सोधपुछका क्रममा किशोरीले आफूमाथि भएको सम्पूर्ण घटनाबारे परिवारलाई जानकारी गराइन्।
घटनाबारे जानकारी पाएलगत्तै पीडित परिवारले प्रहरीमा उजुरी दर्ता गरायो। परिवारको उजुरीका आधारमा प्रहरीले बालबालिका सम्बन्धी यौन अपराध संरक्षण ऐन, भारतीय न्याय संहिता तथा सूचना प्रविधि ऐनका सम्बन्धित प्रावधानअन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको छ।
साउन ३१, २०८३ आइतबार १३:३६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।