वाराणसी विमानस्थलमा हतियार जाँचका क्रममा गोली चल्यो, दुई जना घाइते
एजेन्सी : भारतको उत्तर प्रदेशस्थित वाराणसीस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान एक यात्रुको पेस्तोलबाट अकस्मात गोली चल्दा दुई जना सुरक्षा जाँचकर्ता घाइते भएका छन्।
एयर इन्डिया एक्सप्रेसको उडानबाट मुम्बई जान लागेका ती यात्रुले बोकेको पेस्तोल जाँचका क्रममा अकस्मात गोली चलेको हो।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार भारतको आजमगढका ती यात्रु आफ्नी श्रीमतीसँग एयर इन्डिया एक्सप्रेसको उडान संख्या 'आइएक्स-१८१०' बाट मुम्बई जानका लागि विमानस्थल पुगेका थिए। बिहान करिब ९:३० बजे विमानस्थलमा पुगेपछि ती यात्रुले नियमअनुसार आफूसँग हतियार रहेको जानकारी गराएका थिए।
तत्पश्चात, एएआईसीएलएएसका कर्मचारीहरूले उक्त पेस्तोलको जाँच गरिरहेका बेला अचानक एक राउन्ड गोली चलेको थियो। गोली लागेर एएआईसीएलएएसका दुई जना कर्मचारी घाइते भएका छन्।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि न्यू लक्ष्मी ट्रमा सेन्टर लगिएको छ। वाराणसी विमानस्थलका निर्देशकका अनुसार घटनालगत्तै स्थानीय प्रहरीलाई खबर गरिएको छ र पेस्तोल जाँचका क्रममा कसरी गोली चल्यो भन्ने विषयमा अनुसन्धान सुरु भइसकेको छ।
साउन ३१, २०८३ आइतबार १२:४८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।