स्वतन्त्रता दिवसमा ‘विद्यालय सुधार’ अभियान सुरु गर्दै सीजेपी, दिपकेको आग्रह—‘प्रश्न गरौँ’
एजेन्सी : कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपकेले भारतको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारी विद्यालयहरूमा सुधारको माग गर्दै 'स्कुल ठीक करो' (विद्यालय सुधार गरौँ) अभियानको घोषणा गरेका छन्। शनिबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सर्वसाधारणलाई शिक्षाको विषयमा प्रश्न सोध्न आग्रह गरेका छन्।
दिपकेले राजनीतिक दलहरूले सरकारी विद्यालयको अवस्था सुधार्न पर्याप्त काम नगरेको आरोप लगाए। सीजेपीका संस्थापक दिपकेले जुनसुकै राजनीतिक दल सत्तामा आए पनि सरकारी विद्यालयहरूको निरन्तर बेवास्ता गरिएको बताए।
"मानिसहरूले अब शिक्षाका बारेमा कुरा गर्नुपर्छ भन्ने बुझिसकेका छन्, जुन समयको माग हो," दिपकेले भने। "जुनसुकै राजनीतिक दल सत्तामा आए पनि कसैले पनि राज्यका सरकारी विद्यालयका लागि काम गरेनन्। अब आवश्यकता बढेको छ र हामीले प्रश्न सोधेर उनीहरूलाई काम गर्न बाध्य पार्न सक्छौँ।"
दिपकेले आफ्नो गृहनगर महाराष्ट्रको हिंगोली जिल्लास्थित सन्तुक पिम्परी गाउँबाट 'विद्यालय सुधार गरौँ' अभियानको सुरुवात गर्ने बताएका छन्।
बजेट र कोषको स्रोतमाथि प्रश्न
सीजेपीका संयोजक दिपकेले शुक्रबार छत्रपति सम्भाजीनगर शहरमा राखिएका ठूला ब्यानरहरूको कोषको स्रोतबारे प्रश्न उठाएका छन्। महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसको उपस्थितिमा आयोजित तिरङ्गा र्यालीका क्रममा ती ब्यानरहरू लगाइएका थिए।
"हरेक ४०–५० फिटमा ठूला-ठूला ब्यानरहरू राखिएका थिए। यो पैसा कहाँबाट आयो?" दिपकेले प्रश्न गरे, "यदि यो पैसा ग्रामीण क्षेत्रका विद्यालय र विद्यार्थीहरूमा खर्च गरिएको भए अझ राम्रो हुने थियो। उनीहरूले विद्यार्थीहरूको भविष्य निर्माण गर्न चाहन्छन् कि चाहँदैनन् भन्ने कुरा सोच्नुपर्छ।"
अभिभावकलाई विद्यालयको सामाजिक लेखापरीक्षण गर्न आग्रह
यसअघि सोमबार दिपकेले अभिभावकहरूलाई विद्यालयका आधारभूत सुविधाहरूको सामाजिक लेखापरीक्षण गर्न र सरपञ्चहरूलाई संस्थाहरूको सुधारको जिम्मेवारी लिन आग्रह गरेका थिए।
दिपकेले नयाँ संसद भवन र नयाँ प्रधानमन्त्री निवास निर्माण भएको उल्लेख गर्दै गाउँका विद्यालय निर्माणमा किन पर्याप्त ध्यान नदिइएको प्रश्न गरेका थिए।
उनले प्रश्न गरे, "हामीले नयाँ संसद् भवन बनायौँ, नयाँ प्रधानमन्त्री निवास बनायौँ। तर हाम्रा गाउँहरूमा नयाँ विद्यालयहरू किन बनाउन सकेनौँ? के हामी किसान र मजदुरका बालबालिकालाई देशको भविष्य मान्दैनौँ?"
उनले ग्रामीण क्षेत्रका विद्यालयमा अझै पनि आधारभूत सुविधाको अभाव रहेको विषयलाई समेत उठाएका छन्। गाउँका बालबालिकाहरू विद्यालय जान लामो दूरी हिँड्नुपर्ने तथा कतिपय विद्यालयमा पिउने पानी र शौचालयजस्ता आधारभूत सुविधा समेत पर्याप्त नभएको उनको भनाइ छ।
‘क्या बोलती पब्लिक’ अभियान पनि घोषणा
गत साता दिपकेले देशव्यापी ‘जनता के भन्छन्’ (क्या बोलती पब्लिक) अभियानको घोषणा गरेका थिए। उक्त अभियानमार्फत जनताका समस्या, चिन्ता र प्राथमिकताबारे प्रत्यक्ष जानकारी लिने उद्देश्य राखिएको छ।
दिपकेका अनुसार यस जनसम्पर्क अभियानको पहिलो प्रमुख विषय शिक्षा हुनेछ। ‘विद्यालय सुधार गरौँ’ अभियानमार्फत सरकारी विद्यालयको अवस्था सुधार्न सरकार र राजनीतिक दलमाथि प्रश्न उठाउने तथा अभिभावक र स्थानीय समुदायलाई सक्रिय बनाउने सीजेपीको लक्ष्य रहेको छ।
सीजेपीले सरकारी विद्यालयको सुधारलाई राजनीतिक बहसको केन्द्रमा ल्याउने र जनताले आफ्ना विद्यालयको अवस्था, बजेट तथा आधारभूत सुविधाबारे सम्बन्धित निकायसँग प्रश्न गर्नुपर्ने सन्देश अभियानमार्फत दिने तयारी गरेको छ।
व्यंग्यात्मक अभियानबाट जनआन्दोलनसम्म
कक्रोच जनता पार्टीको सुरुवात दिप्केले अमेरिकाबाट सञ्चालन गरेको अनलाइन व्यंग्यात्मक अभियानका रूपमा गरेका थिए। पछि यो सार्वजनिक आन्दोलनमा परिणत भयो। सीजेपीले निट परीक्षा पत्र लीकविरुद्ध ठूलो प्रदर्शन गरेको थियो। दिल्लीको जन्तरमन्तरमा भएको उक्त आन्दोलनमा देशभरका विद्यार्थी सहभागी भएका थिए। जलवायु अभियन्ता सोनम वाङ्चुक पनि आन्दोलनमा सहभागी भएका थिए।
आन्दोलनपछि तत्कालीन केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले प्रधानले राजीनामा दिएका थिए। जुलाई २५ मा प्रदर्शन समाप्त भएपछि कक्रोच जनता पार्टीले महाराष्ट्रमा दुईदिने रणनीतिक बैठक आयोजना गरेको थियो।
बैठकपछि पार्टीले युवा आन्दोलनका रूपमा अघि बढ्ने घोषणा गरेको थियो। सोनम वाङ्चुकलाई आन्दोलनको मार्गदर्शक बनाइएको थियो।
साउन ३०, २०८३ शनिबार ११:४५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।