सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, प्रदेशको दोस्रो कार्यकालमै ५ पटक फेरियो नेतृत्व

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, प्रदेशको दोस्रो कार्यकालमै ५ पटक फेरियो नेतृत्व

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन्।

प्रदेश प्रमुख नजीर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शुक्रबार भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यससँगै उनी सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री बनेका छन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार पदबाट राजीनामा दिएपछि भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको हो।

प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत नभएकाले केन्द्रीय गठबन्धनको प्रत्यक्ष प्रभाव सुदूरपश्चिमको सरकार गठन र विघटनमा पर्दै आएको छ।

सहजै जुट्यो बहुमत
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जना सदस्यले राजीनामा दिएपछि हाल ५२ जना मात्र कायम छन्। नयाँ सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्नेमा भट्टलाई सहज बहुमत प्राप्त भएको छ।

प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य रहेकाले यो गठबन्धनसँग ३३ जना सांसद पुगेका छन्। यसबाहेक प्रदेशसभामा नेपाली कांग्रेसका १८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक जना सांसद रहेका छन्।

दोस्रो कार्यकालमै अस्थिरताको शृङ्खला
प्रदेश स्थापनापछिको पहिलो पाँचवर्षे कार्यकालमा तत्कालीन माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले पूर्ण रूपमा सरकार चलाएका थिए। तर, प्रदेशसभाको दोस्रो कार्यकाल सुरू भएयता सुदूरपश्चिमले सत्ता अस्थिरताको चरम रूप भोगिरहेको छ।

दोस्रो कार्यकालको सुरुमा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए। उनले २०७९ पुस २८ देखि माघ २६ गतेसम्म मात्र जिम्मेवारी सम्हाले। त्यसपछि कांग्रेसका कमलबहादुर शाहले २०७९ माघ २७ देखि २०८१ वैशाख ५ गतेसम्म सरकारको नेतृत्व गरे।

शाहपछि वैशाख ६ गते दीर्घबहादुर सोडारी मुख्यमन्त्री बने तर उनको कार्यकाल पनि साउन २० गतेसम्म मात्र सीमित रह्यो।

सोडारीको बहिर्गमनपछि पुनः दोस्रो पटक मुख्यमन्त्री बनेका कांग्रेसका शाहले सत्ता समीकरण बदलिएपछि राजीनामा दिनुपरेको थियो। शाहको राजीनामासँगै भट्ट प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा उदाएका हुन्।

साउन २९, २०८३ शुक्रबार १३:२५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।