१३ वर्षीया बालिकाले गलत कदम चालेपछि ब्राजिलमा डिस्कोर्डको ‘लाइभस्ट्रिमिङ’ सेवा रोक्न आदेश
काठमाडौं : ब्राजिलको तथ्यांक संरक्षण प्राधिकरणले सोसल मिडिया प्लेटफर्म डिस्कोर्डलाई आफ्नो ‘लाइभस्ट्रिमिङ’ सेवा तत्कालका लागि बन्द गर्न आदेश दिएको छ।
डिस्कोर्डमा प्रत्यक्ष प्रसारण (लाइभस्ट्रिम) भइरहेकै बेला एक १३ वर्षीया बालिकाले आत्महत्या गरेपछि अधिकारीहरूले यस्तो कदम चालेका हुन्।
गत अगस्ट ७ मा भएको उक्त घटनापछि सुरू भएको अनुसन्धानका क्रममा बालिकालाई सोही डिस्कोर्ड सर्भरमा रहेका अन्य प्रयोगकर्ताहरूले आत्महत्या गर्न उक्साएको खुलेको छ।
अनुसन्धानकर्ताहरूका अनुसार डिस्कोर्डसँग प्रत्यक्ष प्रसारण भइरहेका सामग्रीहरूमाथि तत्काल निगरानी राख्ने वा स्वचालित रूपमा नियम उल्लङ्घन पत्ता लगाउने प्रणाली नभएको पाइएको छ।
डिस्कोर्डले आफ्ना प्रयोगकर्ताहरूलाई ‘गो लाइभ’ फिचरमार्फत रियल टाइममा अडियो र भिडियो कल गर्ने सुविधा दिँदै आएको छ।
डिस्कोर्डका प्रवक्ताले सो घटनाप्रति दुःख व्यक्त गर्दै उक्त समूहलाई तत्काल बन्द गरिएको र प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताएका छन्।
प्रवक्ताका अनुसार हिंसा वा गैरकानुनी गतिविधिलाई प्रश्रय दिने कुनै पनि समूहलाई प्लेटफर्ममा ठाउँ नदिइने स्पष्ट पारिएको छ।
यद्यपि, उक्त आपराधिक गतिविधि डिस्कोर्डमा सर्भर बनाइनुअघि नै अन्य प्लेटफर्महरूमा योजनाबद्ध रूपमा अघि बढाइएको दाबी डिस्कोर्डको छ।
घटनाको अनुसन्धानका क्रममा प्रहरीले हालसम्म पाँच जना किशोरहरूलाई नियन्त्रणमा लिएको छ।
प्राधिकरणले डिस्कोर्डलाई लाइभस्ट्रिमिङ सेवा निलम्बन गर्न तीन दिनको समय दिएको छ। उक्त निर्णयविरुद्ध अपील गर्न डिस्कोर्डसँग १० कार्यदिनको समय छ।
आदेश पालना नगरेमा प्रतिउल्लंघन ५ करोड ब्राजिलियन रियाल (लगभग ९६ लाख ७० हजार अमेरिकी डलर) सम्म जरिवाना हुन सक्ने चेतावनी दिइएको छ।
बालबालिकाको सुरक्षाका लागि उमेर प्रमाणीकरण लगायतका पर्याप्त सुरक्षात्मक उपायहरू लागु नगरेसम्म यो प्रतिबन्ध कायमै रहने प्राधिकरणले जनाएको छ।
गेमिङ क्षेत्रमा निकै लोकप्रिय डिस्कोर्डका विश्वभर २० करोडभन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।
(आत्महत्या कुनै पनि समस्याको समाधान होइन। यदि तपाईं वा तपाईंको वरपर कोही मानसिक तनावमा हुनुहुन्छ भने मद्दत माग्न नहिच्किचाउनुहोस्। आत्महत्या रोकथामका लागि राष्ट्रिय हेल्पलाइन ११६६ मा फोन गरेर परामर्श लिन सकिन्छ।)
साउन २९, २०८३ शुक्रबार १२:४५:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।