उडानका क्रममा पाइलटले गाँजा खाएको भेटिएपछि एयर इन्डियाका सबै पाइलटको ‘ड्रग टेस्ट’ गरिने

उडानका क्रममा पाइलटले गाँजा खाएको भेटिएपछि एयर इन्डियाका सबै पाइलटको ‘ड्रग टेस्ट’ गरिने

एजेन्सी : भारतीय विमान सेवा कम्पनी एयर इन्डियाले आफ्ना सम्पूर्ण पाइलटहरूको प्रतिबन्धित लागुऔषध परीक्षण तत्काल लागू हुने गरी अनिवार्य गरेको छ।

गत साता थाइल्याण्डको फुकेटबाट नयाँ दिल्लीका लागि उडेको विमानका मुख्य पाइलटले गाँजा सेवन गरेको पाइएपछि कम्पनीले यो कडा कदम चालेको हो।

गत अगस्ट ४ मा फुकेटबाट दिल्ली उडेको एयरबस विमान उडान भरेको केही मिनेटमै आकाशबाट अचानक करिब ३०० फिट (९१ मिटर) तल खसेको थियो।

उक्त घटनाका कारण विमानभित्र रहेका १७ जना यात्रु तथा चालक दलका सदस्यहरू घाइते भएका थिए।

घटनाको प्रारम्भिक अनुसन्धानमा विमानका वरिष्ठ पाइलटले गाँजा सेवन गरेको पुष्टि भएको थियो। हाल अनुसन्धान नसकिउन्जेलसम्मका लागि उडानमा रहेका दुवै पाइलटलाई निलम्बन गरिएको छ।

१० प्रतिशतको नियम तोडेर शतप्रतिशत परीक्षण
हालको उड्डयन नियमअनुसार एयरलाइन्सहरूले कम्तीमा १० प्रतिशत पाइलटहरूको मात्र छनोट गरी ड्रग टेस्ट गर्ने प्रावधान थियो।

तर, यो घटनापछि एयर इन्डिया र यसको सहायक बजेट कम्पनी 'एयर इन्डिया एक्सप्रेस'का सम्पूर्ण पाइलटहरूको अनिवार्य परीक्षण गरिने भएको छ।

पाइलटहरूले उड्डयन नियमले प्रतिबन्ध लगाएका लागुपदार्थ तथा अन्य औषधी सेवन गरे/नगरेको जाँच एकेडेमी, ब्रिफिङ सेन्टर तथा कार्यालयहरूमा तालिमकै क्रममा गरिनेछ।

यात्रुको सुरक्षामा सम्झौता नगर्ने दाबी
एयर इन्डियाले आफ्ना कर्मचारीहरूलाई पठाएको पत्रमा लेखेको छ, ‘यो कदम सरकारी नियमभन्दा पनि अघि बढेर चालिएको हो, जसले उडान सुरक्षा, उच्च व्यावसायिकता र हाम्रा यात्रुहरूप्रति एयर इन्डियाको प्रतिबद्धतालाई पुष्टि गर्दछ।’

यस भयानक घटनाको अनुसन्धान भारतीय उड्डयन अधिकारीहरू, विमान निर्माता कम्पनी एयरबस र फ्रान्सको उड्डयन सुरक्षा एजेन्सीले संयुक्त रूपमा गरिरहेका छन्।

पछिल्लो समय उडान सुरक्षालाई लिएर विभिन्न आलोचना खेपिरहेको एयर इन्डियाले हालै मात्र इथियोपियन एयरलाइन्सका पूर्वप्रमुख तेवोल्डे गेब्रेमरियमलाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।

साउन २९, २०८३ शुक्रबार १२:३१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।