किशोर श्रेष्ठलाई बरामद गरिएका सामग्रीसहित सोमबार उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले ‘जनआस्था’ साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई उनीबाट बरामद गरिएका सम्पूर्ण विद्युतीय सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ।
श्रेष्ठलाई बिनाआधार र कारण गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासले उक्त आदेश जारी गरेको हो।
अदालतले श्रेष्ठलाई थुनामा राख्नुको कारणसहित उनका घर तथा कार्यालयबाट नियन्त्रणमा लिइएका सबै सञ्चार सामग्री लिएर सोमबार उपस्थित हुन प्रहरी तथा विपक्षी निकायका नाममा आदेश दिएको छ।
वैयक्तिक गोपनीयतासम्बन्धी कसुरको आरोपमा बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ परेका श्रेष्ठलाई बिहीबार जिल्ला अदालत काठमाडौंले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
पक्राउलगत्तै प्रहरीले उनको घर तथा कार्यालयमा शृङ्खलाबद्ध खानतलासी गरेको थियो। प्रहरीले सानेपास्थित ‘जनआस्था’को कार्यालयबाट ६ थान कम्प्युटर सीपीयू, एउटा मनिटर र एउटा मोबाइल नियन्त्रणमा लिएको छ।
त्यसैगरी, पक्राउ परेको रात घरबाट ल्यापटप र मोबाइल जफत गरेको प्रहरीले बिहीबार राति पुनः निवासमा पुगेर सीसीटीभीको रेकर्डर समेत लगेको थियो।

साउन २९, २०८३ शुक्रबार ११:२९:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।