छोरीका लागि अंग्रेजी सिक्दै गरेका बुबा, ट्याक्सी चलाउँदै 'च्याटजिपिटी' सँग अंग्रेजी गफ!
एजेन्सी : एक म्यानेजमेन्ट कन्सल्टेन्टले सामाजिक सञ्जाल लिङ्कदेनमा सेयर गरेको एउटा पोष्ट अहिले इन्टरनेटमा भाइरल भइरहेको छ। उनले नयाँ दिल्लीमा बिहानै ट्याक्सी यात्राका क्रममा घटेको एउटा अनौठो र भावुक घटना विवरण सार्वजनिक गरेका हुन्।
तुषार जेजानीले आफ्नो लिङ्कदेन पोष्टमा बिहान करिब ४:१३ बजे ट्याक्सी चढेको क्षण सम्झिँदै लेखेका छन्, "बिहानको ४:१३ बजे, नयाँ दिल्ली। एउटा यस्तो ट्याक्सी यात्रा, जुन म कहिल्यै बिर्सने छैन।"
तुषारका अनुसार, बिहानको करिब चार बजे, नयाँ दिल्लीका सडकहरू प्रायः सुनसान थिए। बेंगलोर जानका लागि तुषार हतार-हतार ट्याक्सीमा चढे। ट्याक्सी गुडीरहँदा चालक भने एकोहोरो फोनमा अंग्रेजीमा बोलिरहेका थिए। उनी आफ्नो बिहानको तालिका र गाडी अहिले कहाँ पुग्यो भन्ने लोकेसनको विवरण कसैलाई दिइरहेका जस्तो देखिन्थे। जसले सुरुमा तुषारलाई केही सशंकित बनायो।
"म अलिकति डराएँ र ध्यान दिएर सुन्न थालेँ। किनभने एक छिनका लागि मलाई लाग्यो कि उनले हाम्रो लोकेसन र विवरण अरू कसैलाई सेयर गरिरहेका छन्," तुषारले लेखेका छन्।
तर, तुषार डराएको महसुस गरेपछि चालक आफैंले कुराकानी सुरु गरे।
चालकले अंग्रजीमै सोधे, "सर, तपाईं कहाँ जाँदै हुनुहुन्छ?"
तुषारले जवाफ दिए, "म त बेंगलोर जाँदैछु।"
त्यसपछि चालकले यो यात्रा कामको सिलसिलामा हो कि व्यक्तिगत भनी सोधे। तुषारले छोटो उत्तर दिए, "सधैं कामकै सिलसिलामा।"
करिब १० मिनेटसम्म उनीहरूबीच कुराकानी भयो। ट्याक्सी चालक अंग्रेजीमा बोलिरहेका थिए भने तुषारले हिन्दीमा जवाफ दिइरहेका थिए। कुराकानीकै क्रममा तुषारले फोनमा कोसँग कुरा गरिरहेको भनेर चालकलाई सोधे।
चालकले मुस्कुराउँदै दिए, "होइन भाइसाब, फोनमा होइन। म त 'च्याटजिपिटी' मा अंग्रेजी बोल्ने अभ्यास गरिरहेको थिएँ।"
चालकले आफू अझै पनि धाराप्रवाह अंग्रेजी बोल्न सिक्दै गरेको र यसका पछाडि एउटा ठूलो प्रेरणा रहेको बताए। उनले भने, "मेरो भर्खरै छोरी जन्मिएकी छिन्। म उनका लागि यो सिक्दैछु। जब उनी ठूली हुनेछिन्, म उनलाई पनि सिकाउनेछु।"
'छोरीको भविष्यका लागि नयाँ सुरुवात'
तुषारका अनुसार, बिहान करिब ५ बजेतिरको उक्त कुराकानीले उनलाई गहिरो रूपमा छोयो। उनका अनुसार चालक केवल नयाँ भाषा सिकिरहेका थिएनन्, उनी आफ्नी छोरीका लागि जीवनमा अझ राम्रो सुरुवात र अवसर सिर्जना गर्ने प्रयास गरिरहेका थिए।
तुषारले लेखेका छन्, "बिहानको ५ बजेको त्यो लगभग खाली सडकमा मलाई महसुस भयो, उनी केवल अंग्रेजी मात्र सिकिरहेका थिएनन्। उनी त आफ्नी छोरीका लागि जीवनमा एउटा फरक र बलियो सुरुवातको रेखा कोर्ने कोसिस गरिरहेका थिए।"
साथै, उनले आर्टिफिसियल इन्टेलिजेन्सले कसरी शिक्षा र सिकाइलाई समाजका सबै वर्गसम्म पुर्याइरहेको छ भन्ने कुरा पनि उल्लेख गरे। "कुनै कोचिङ क्लास छैन। कुनै मध्यस्थकर्ता छैन। केवल इच्छाशक्ति र एआई भएको एउटा स्मार्टफोन। गत वर्षको यात्रा र त्यसयता एआई मा भएको विकासलाई सम्झिँदै छु," उनले लेखे।
पोष्टको अन्त्यमा उनले लेखेका छन्, "कस्तो यात्रा। कस्तो स्मरण गराइ। 'सिकौं, सिकौं, र सिकौं'।"
यो पोष्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा एआईको व्यापक प्रभाव र 'च्याटजिपिटी' जस्ता प्रविधिले परम्परागत कक्षाकोठा बाहिर पनि मानिसहरूलाई कसरी सीप सिक्न मद्दत गरिरहेका छन् भन्नेबारे चर्चा सुरु भएको छ। कसैले यसलाई 'भविष्यको सम्भावना' भनेका छन् भने कसैले 'अभिभावकको निस्वार्थ प्रेम'।
एक प्रयोगकर्ताले लेखेका छन्, "एआईको सबैभन्दा ठूलो प्रभाव रोजगारी खोस्नु नभई ती पर्खालहरू हटाउनु हुन सक्छ, जसले कुनै समय मानिसको महत्वाकांक्षालाई अवसरमा परिणत हुनबाट रोकेका थिए।"
अर्का प्रयोगकर्ता लेख्छन्, "यी चालकको कथाले देखाउँछ कि उत्सुकता, इच्छाशक्ति र प्रविधिको पहुँचले मानिस जहाँबाट सुरु गरे पनि नयाँ ढोकाहरू खोल्न सक्छ। सिकाइका लागि सधैं कक्षाकोठा नै चाहिँदैन; कहिलेकाहीँ एउटा स्मार्टफोन र आफूलाई सुधार्ने इच्छा नै काफी हुन्छ।"
त्यस्तै अर्का एक प्रयोगकर्ता लेखेका छन्, "बिहान ५ बजे आफ्नी छोरीको उज्ज्वल भविष्यका लागि 'च्याटजिपिटी' प्रयोग गर्ने चालकले देखाएको महत्वाकांक्षा कुनै ठूला आर्थिक सम्मेलन वा मञ्चभन्दा धेरै शक्तिशाली छ। पहिले पहुँच पाउनु ठूलो कुरा थियो, अब त केवल इच्छाशक्ति भए पुग्छ।"
(हिन्दुस्तान टाइम्समा प्रकाशित समाचारको नेपाली अनुवाद)
साउन २८, २०८३ बिहीबार १७:४०:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।