अमेरिकामा भारतीय मूलका १७ वर्षीय किशोरद्वारा आमा र भाइको हत्या : घटनाअघि च्याटजीपीटीमा खोजेका थिए परिवार मार्ने 'फ्यान्टेसी'
एजेन्सी : अमेरिकाको म्यासाचुसेट्स राज्यमा १७ वर्षीय भारतीय मूलका किशोरले आफ्नै आमा र कान्छा भाइको हत्या गरेका छन्।
किशोर अर्जुन अरविन्द नाम गरेका ती किशोरले घटनाअघि 'च्याटजीपीटी' मा 'परिवारको हत्या' गर्नेसम्बन्धीको परिकल्पना बारे खोजी गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।
बोस्टनबाट करिब ४८ किलोमिटर टाढा रहेको एक्टनस्थित मार्था लेनमा रहेको आफ्नै घरमा मङ्गलबार ४५ वर्षीया आमा सुधा भेन्कटेशन र १४ वर्षीय भाइ सिद्धार्थ अरविन्द मृत अवस्थामा फेला परेका थिए। भाइको शव घरको पहिलो तलामा र आमाको शव बेसमेन्टमा भेटिएको थियो। दुवैको शरीरमा गम्भीर र चोटपटक देखिए पनि प्रयोग गरिएको हतियार र मृत्युको मुख्य कारणबारे प्रहरीले अनुसन्धान गरीरहेका छन्।
यसरी बाहिरियो घटना
घटनाबारे जानकारी मंगलबार साँझ ६:३० बजेपछि भएको थियो। घरमा पढाउन आउने ट्युटरले ढोका नखोलिएपछि अर्जुनका बुबालाई सम्पर्क गरेकी थिइन्। बुबाले पनि परिवारसँग सम्पर्क गर्न नसकेपछि एक्टन प्रहरी टोलीलाई खबर गरेका थिए। अर्जुनका बुबाले मंगलबार बिहान काममा निस्कनुअघि अन्तिम पटक आफ्नी श्रीमतीलाई देखेका थिए भने कान्छो छोरा सिद्धार्थलाई दिउँसो १२ बजेतिर अन्तिम पटक देखेका बताएका थिए।
प्रहरी घटनास्थल पुग्दा घरभित्र दुवै जना मृत अवस्थामा भेटिएका थिए। भाइ सिद्धार्थको शव घरको पहिलो तलामा र आमा सुधाको शव बेसमेन्टमा फेला परेको थियो। दुवै जनाको शरीरमा गम्भीर चोटपटक देखिएको छ। यद्यपि, मृत्युको मुख्य कारण र प्रयोग गरिएको हतियारबारे अनुसन्धान जारी छ।
हत्यापछि अर्जुन आफ्नी आमाको कार लिएर भागेका थिए। फरार भएका अर्जुनलाई प्रहरीले रातभरको खोजीपछि बुधबार बिहान पक्राउ गरेको थियो।
एक्टन-बक्सबरो क्षेत्रीय उच्च विद्यालयमा अध्ययनरत अर्जुनमाथि दुई वटा कर्तव्य ज्यान, परिवार वा घरका सदस्यमाथि दुई वटा सांघातिक आक्रमण, कुटपिट, अनुमति बिना सवारी साधन प्रयोग र सवारी साधन चोरीको अभियोग दर्ता गरिएको छ।
मिडलसेक्स काउन्टी जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार अर्जुनले पछिल्लो समय शंकास्पद व्यवहार देखाउँदै आएका थिए। उनले इन्टरनेट र 'च्याटजीपीटी'को प्रयोग गरी आफ्नो परिवारलाई मार्ने काल्पनिक विचार र तरिकाहरू खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
उनले एआईसँग गॉथिक उपन्यास प्रकारका कथाहरू लेख्न, पात्रहरू सिर्जना गर्न र विभिन्न प्रश्नहरू सोध्न सहयोग लिएको पाइएको छ।
साउन २८, २०८३ बिहीबार १२:५६:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।