बुटवलमा खुला रूपमा ग्यास बिक्री, सिलिन्डर बोकेर बिहानैदेखि लाइनमा सर्वसाधारण (तस्बिरहरू)
बुटवल : खाना पकाउने एलपी ग्यासको अभाव झेल्दै आएका उपभोक्ताका लागि बुटवलमा आज खुला रूपमा ग्यास बिक्री गरिँदैछ।
लामो समयदेखि ग्यास नपाएका उपभोक्ताहरू सिलिन्डर पाइने आशामा बिहानैदेखि बुटवलको देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पसको खेल मैदानमा लाइनमा बसेका छन्।
यसअघि ग्यास वितरणमा देखिएको अव्यवस्था र उपभोक्ताको गुनासो सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालय रुपन्देही, नेपाल आयल निगम, ग्यास उद्योगी, बिक्रेता र उपभोक्ता संघबीच छलफल भएको थियो।

सोही छलफलको निष्कर्षअनुसार निगमले साउन २८ गते (आज) देखि बुटवल र भैरहवामा छुट्टाछुट्टै बिक्री केन्द्र तोकेर बिहान १० बजेदेखि ग्यास वितरणको व्यवस्था मिलाएको हो।

जसअनुसार आज बुटवलको देवीनगरबाट बुटवल, आरती, सिद्धार्थ, सिद्धनाथ, जानकी, स्वस्तिक, लुम्बिनी र त्रिशूल ग्यास बिक्री गरिँदैछ। त्यस्तै, भैरहवास्थित राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट बुटवल, स्वस्तिक, सिद्धार्थ, त्रिशूल र चण्डेश्वरी ग्यास बिक्री भइरहेको छ।

निगमका अनुसार ग्यास वितरणमा विद्यार्थी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, शिविरमा बसेका व्यक्ति, रातो कार्ड प्राप्त सुकुम्बासी तथा ग्यास नपाएर चुल्हो नै नबलेका उपभोक्तालाई विशेष प्राथमिकता दिइनेछ।

यसअघि साउन २६ गते पनि भैरहवास्थित खाद्य कम्पनीको परिसरबाट ५ सय ४० र बुटवलको हाटबजार लाइनस्थित बालमन्दिरबाट ६ सय २८ थान ग्यास सिलिन्डर बिक्री गरिएको निगमले जनाएको छ।

नेपाल आयल निगमले हाल एलपी ग्यासको आपूर्ति नियमित रहेको दाबी गरेको छ। साथै, निगमले उपभोक्तालाई आफूलाई आवश्यकता परेको जति मात्र ग्यास खरिद गर्न र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरेको छ।






साउन २८, २०८३ बिहीबार ०७:३२:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।