खेतदेखि बजारसम्म विषादीको जोखिम, कसरी सुरक्षित बनाउने भान्सा?
बुटवल : पछिल्लो समय बजारमा अत्यधिक विषादी प्रयोग गरिएका तरकारी तथा फलफूलको बिक्री-वितरण बढ्न थालेको छ।
किसानले बालीलाई किराबाट जोगाउन, रोग नियन्त्रण गर्न र उत्पादन बढाउने होडमा आवश्यकताभन्दा बढी रासायनिक विषादी प्रयोग गरिरहेको पाइएको छ।
विषादी प्रयोग गरिसकेपछि तोकिएको ‘प्रतिक्षा अवधि’ पूरा नगरीकनै बजारमा उपज पठाउने प्रवृत्तिका कारण उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ।
यद्यपि, बुटवलस्थित ‘विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला’ले गरेको एक वर्षको परीक्षणले बजारमा पुग्ने सबै कृषि उपज भने खान अयोग्य नरहेको देखाएको छ।
प्राविधिकको सल्लाहभन्दा ‘एग्रोभेट’को भर
तरकारीमा रोग तथा किराको प्रकोप देखिनासाथ कृषि प्राविधिकको सल्लाह लिनुभन्दा सिधै एग्रोभेट पुगेर औषधि किन्ने र छर्कने बानी धेरै किसानको छ। जसले गर्दा विषादी खेतीपातीको नियमित हिस्साजस्तै बनेको छ।
भेटेरिनरी चिकित्सक हुमकान्त काफ्लेका अनुसार जैविक तथा प्राङ्गारिक विकल्प उपलब्ध भए पनि किसानहरू रासायनिक पदार्थतर्फ बढी आकर्षित भइरहेका छन्।
निम, बकाइनो, गहत र साबुनपानी जस्ता जैविक उपायबाट पनि किरा नियन्त्रण गर्न सकिने भए पनि छिटो नतिजा निकाल्ने र बढी उत्पादन लिने होडमा कडा रासायनिक विषादीको प्रयोग भइरहेको छ।
‘जैविक विकल्पको प्रयोग र विषादीको सही व्यवस्थापनबारे किसानलाई पर्याप्त जानकारी दिनु अहिलेको आवश्यकता हो। अब हरेक पालिकाले यसबारे सचेतना जगाउन जरुरी छ,’ डा. काफ्ले भन्छन्, ‘उत्पादन बढाउने उद्देश्यले प्रयोग गरिने विषादी गलत मात्रा र गलत समयमा प्रयोग हुँदा गम्भीर समस्या निम्तिएको छ।’
उपभोक्ताले पनि ठूलो, सफा, चम्किलो र किराले नखाएको तरकारी रुचाउने भएकाले उपजलाई आकर्षक देखाउन किसानले विषादीको सहारा लिने गरेको उनले बताए।
एक वर्षमा ३ हजार १ सय नमुना परीक्षण
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई, बुटवलले आर्थिक वर्ष २०८२/८३ मा ३ हजार १ सय नमुना परीक्षण गरेको छ।
जसमध्ये ३ हजार ८० नमुना उपभोगयोग्य भेटिएका छन् भने २० वटा नमुनामा मापदण्डभन्दा बढी विषादी भेटिएपछि बिक्री-वितरणमा रोक लगाइएको थियो।
अत्यधिक विषादी भेटिएका २० नमुनामध्ये ९ वटा पूर्ण रूपमा विसर्जन (नष्ट) गरियो भने ११ वटालाई क्वारेन्टाइनमा राखी पुनः परीक्षण गरेर मात्र बजारमा पठाइएको प्रयोगशालाका नायब प्राविधिक सहायक राजीव भण्डारीले जानकारी दिए।
विसर्जन गरिएका ९ नमुनासँग सम्बन्धित ९ सय ३५ दशमलव ३ किलो कृषि उपज नष्ट गरिएको थियो भने क्वारेन्टाइनमा राखिएको कृषि उपजको परिमाण २ हजार २ सय दशमलव ५ किलो रहेको थियो।
तरकारीमा बढी निगरानी
प्रयोगशालाले वर्षभरि परीक्षण गरेका ३ हजार १ सय नमुनामध्ये ३ हजार १ नमुना तरकारी र ९९ वटा नमुना फलफूलका छन्।
कुल नमुनामध्ये २ हजार ८ सय ६७ स्वदेशी र २ सय ३३ अन्तर्राष्ट्रिय उत्पादन थिए। अन्तर्राष्ट्रिय उत्पादनतर्फ भारतबाट आएका २ सय २१ र चीनबाट आएका १२ नमुना परीक्षण गरिएको थियो।
बजारबाट नियमित र छड्के दुवै तरिकाले नमुना संकलन भइरहेको भण्डारीले बताए। एक वर्षमा २ हजार ९ सय ६१ नियमित र १ सय ३९ छड्के परीक्षण गरिएको छ।
‘परीक्षणको उद्देश्य बजारमा आउने सबै तरकारी तथा फलफूललाई शंकाको घेरामा राख्नु होइन, जोखिमयुक्त उत्पादन उपभोक्ताको भान्सासम्म पुग्न नदिनु हो,’ भण्डारीले भने।
रुपन्देहीका नमुना सबैभन्दा धेरै
बुटवलमै प्रयोगशाला रहेकाले सबैभन्दा बढी नमुना रुपन्देहीका परीक्षण गरिएका छन्। रुपन्देहीका ८ सय ४४ नमुना परीक्षण गर्दा ६ वटा विसर्जन र ४ वटा क्वारेन्टाइनमा राखिएका थिए।
त्यसैगरी चितवनका ६ सय ३६ नमुना परीक्षण गर्दा २ विसर्जन र २ क्वारेन्टाइनमा परेका थिए।
यस्तै सल्यानबाट ३ सय २६, धादिङबाट २ सय ९९, दाङबाट १ सय ४६, पाल्पाबाट १ सय ४२ र मकवानपुरबाट १ सय १४ नमुना परीक्षण गरिएको प्रयोगशालाले जनाएको छ।
९३५ केजी तरकारी नष्ट
परीक्षणका क्रममा खान अयोग्य भेटिएका ९ सय ३५ किलोभन्दा बढी तरकारी नष्ट गरिएको छ।
मुख्यगरी ब्रोकाउली, रायोको साग, तने बोडी, काउली र काँक्रो जस्ता तरकारीमा परीक्षण गर्दा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ समूहका विषादीको अवशेष सीमाभन्दा बढी भेटिएको थियो।
नष्ट गरिएका तरकारीमा चितवनबाट ल्याइएको ५ सय केजी काँक्रो, मकवानपुरको १ सय ७६ केजी काउली र चितवनकै १ सय २० केजी तने बोडी रहेका छन्।
‘आँखाले हेरेर विषादी थाहा हुँदैन’
तरकारीको रङ, आकार, ताजापन वा बाहिरी स्वरूप हेरेर मात्रै त्यसमा विषादी छ/छैन भन्ने पत्ता लगाउन नसकिने भएकाले उपभोक्ताका लागि पहिचान गर्नु चुनौतीपूर्ण छ।
उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसी उपभोक्ता आफैँ सचेत हुनुपर्ने बताउँछन्।
विश्वसनीय ठाउँबाट मात्रै तरकारी किन्ने, घरमा ल्याएपछि राम्ररी पखाल्ने र शंकास्पद उपज प्रयोग नगर्ने कुरामा ध्यान दिनुपर्ने उनको सुझाव छ।
तर, विषादी नियन्त्रणको सम्पूर्ण जिम्मेवारी उपभोक्तामाथि मात्रै थोपर्न नहुने जिसीको तर्क छ।
‘किसानले सुरक्षित विधिबाट विषादी प्रयोग गर्ने, व्यवसायीले गुणस्तरीय उत्पादन मात्र बिक्री गर्ने र राज्यका निकायले नियमित परीक्षण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्छ। तब मात्र विषादी नियन्त्रण हुन सक्छ’, उनले भने।
स्वास्थ्यमा कस्तो असर?
अत्यधिक विषादीयुक्त खानेकुराले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन दुवैखाले गम्भीर असर पुर्याउँछ।
बुटवल हस्पिटलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठकका अनुसार अत्यधिक विषादीको सम्पर्कमा आउँदा वा अवशेषयुक्त खाद्य पदार्थ सेवन गर्दा टाउको दुख्ने, रिँगटा लाग्ने, वाकवाकी हुने, बान्ता हुने, पेट दुख्ने, अत्यधिक पसिना आउने, आँखा धमिलो हुने र मांसपेशीमा कम्पन हुनेजस्ता तत्कालीन समस्या देखिन सक्छन्।
‘केही कडा विषादीले स्नायु प्रणालीमै प्रत्यक्ष असर पार्छन्,’ डा. पाठकले चेतावनी दिँदै भने, ‘लामो समयसम्म यस्ता विषादीयुक्त खानेकुराको सम्पर्कमा रहँदा कलेजो, श्वासप्रश्वास, स्नायु प्रणाली र प्रजनन स्वास्थ्यमा समेत गम्भीर क्षति पुग्न सक्छ।’
साउन २७, २०८३ बुधबार १२:४१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।