पनौतीको खाली टहरामा गाडीका सहचालक मृत फेला, घटनाको अनुसन्धान सुरू

पनौतीको खाली टहरामा गाडीका सहचालक मृत फेला, घटनाको अनुसन्धान सुरू

काभ्रे : काभ्रेको पनौती नगरपालिका-७, सरस्वती पोखरी नजिकै एक जना युवक मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार, शनिबार दिउँसो करिब पौने २ बजे सरस्वती पोखरी नजिकै रहेको जस्तापाताले बनेको सार्वजनिक खाली टहरामा एक पुरुषको शव भेटिएको हो।

मृतकको पहिचान काभ्रेकै पनौती नगरपालिका-१२ कलाती घर भएका अन्दाजी ३० वर्षीय अनिल तामाङको रूपमा भएको छ।

तामाङ हाल पनौती बसपार्कमा गाडीमा सहचालकको रूपमा काम गर्दै आएको प्रहरीले जनाएको छ।

टहरामा शव रहेको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी पनौतीबाट प्रहरी नायब निरीक्षक (सई) सिताराम खतिवडाको कमान्डमा ५ जनाको टोली घटनास्थल पुगेर सुरक्षित राखेको थियो।

घटनास्थल पनौती प्रहरी चौकीबाट करिब एक किलोमिटर पश्चिममा पर्छ।

त्यसलगत्तै, मुचुल्का संकलन तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजाबाबु यादवको कमान्डमा ‘सिन अफ क्राइम अफिसर’सहितको विशेषज्ञ टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीले घटनास्थलको मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी बेलुका ४ बजे शवलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ।

घटनाको कारण खुल्न नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउन २७, २०८३ बुधबार ११:०९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।