सुर्खेतमा श्रीमतीमाथि पेट्रोल छर्केर आगो लगाएको आरोपमा श्रीमान् पक्राउ
सुर्खेत : सुर्खेतमा श्रीमतीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ।
भेरीगङ्गा नगरपालिका–१३ रामघाटका ४९ वर्षीय जयबहादुर रानाले ५० वर्षीया श्रीमती महेश्वरी रानालाई पेट्रोल छर्केर आगो लगाएका हुन्।
मङ्गलबार बेलुका ५ बजे भएको उक्त घटनालगत्तै १८ वर्षीया छोरी पुष्पा रानाले आमाको शरीरमा लागेको आगो निभाएकी थिइन्। त्यसपछि उनले आमालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याएकी हुन्।
अनुहार, घाँटी र शरीरको विभिन्न भागमा करिब ३६ प्रतिशत जलेको अवस्थामा रानालाई अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए।
उनका अनुसार महेश्वरीलाई थप उपचारका लागि मङ्गलबार नेपालगन्ज सिफारिस (रेफर) गरिएको र त्यहाँ पनि सम्भव नहुने देखिएपछि राति ११:३० बजे भारतको लखनउ रेफर गरिएको छ।
साउन २७, २०८३ बुधबार १०:५९:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।