दुई सय ४५ जनाको ज्यान लिएको कालाजारको सङ्क्रमण घट्दै, निवारणको घोषणा गर्दै सरकार
काठमाडौं: नेपालमा २६ वर्षको अवधिमा दुई सय ४५ जनाको ज्यान लिइसकेको कालाजार रोगको सङ्क्रमण निवारणको चरणमा पुगेको छ। यही वर्ष (सन् २०२६)को अन्त्यसम्ममा जनस्वास्थ्य समस्याबाट कालाजार निवारण हुने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुनै जिल्लामा लगातार तीन वर्षसम्म प्रति दस हजार जनसङ्ख्यामा एक जनाभन्दा कम व्यक्तिमा कालाजार सङ्क्रमण सीमित भए निवारण भएको मानिन्छ।
उदाहरणका लागि उदयपुरमा ४० हजार जनसंख्या छन् भने त्यहाँ तीन जनामा लगातार तीन वर्षसम्म कालाजार देखिएमा त्यो निवारण भएको मानिन्छ। तर, ४० हजारमध्ये चार जनामा कालाजार देखिए निवारण भएको मानिँदैन।
डा. दाहालका अनुसार नेपालका सबै जिल्लामा सन् २०२४ र २०२५ मा प्रति दश हजार जनसङ्ख्यामध्ये एक जना भन्दा कममा मात्रै कालाजार देखिएकाले सन् २०२६ भर यही अवस्था कायम रहे नेपालमा कालाजार निवारण घोषणा हुने बताउँछन्।
“चमत्कारिक रूपमा केही भए छुट्टै कुरा हो”, डा. दाहालले भने “नत्र गत दुई वर्षको तथ्य हेर्दा नेपालमा कालाजार निवारण हुनसक्ने सम्भावना बलियो छ।”
कालाजार भुसुनाबाट सर्ने रोग हो। बान्ता आउने तथा टाउको दुख्ने जस्ता लक्षण देखिने यसको समयमै उपचार नगरे सङ्क्रमितको ज्यान समेत जाने गरेको छ।
नेपालमा कालाजारको सुरुवात तराइका जिल्लाहरूबाट भएको थियो। पछि यो पहाडी र हिमाली जिल्लामा समेत पुग्यो। यही कारण निवारणै घोषणा भए पनि चनाखो नभए महामारीका रूपमा पुनः दोहोरिन सक्ने जोखिम भने कायमै रहने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन्।
त्यसैले निवारण गरेको खण्डमा समेत ढुक्क भएर बसको खण्डमा पुनः दोहोरिएर भविष्यमा महामारीको रुप समेत लिनसक्ने जोखिम रहेकाले यसको निवारणमा प्रभावकारी काम गर्नुपर्ने डा. मरासिनीको सुझाव छ।
८० भन्दा बढी मुलुकमा कालाजार देखिएको र प्रत्येक वर्ष करिब १५ हजार व्यक्ति सङ्क्रमित हुने र त्यसमध्ये विश्वभर पाँच सय भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको डा. दाहाल बताउँछन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार सन् २००० देखि सन् २०२६ सम्म २६ वर्षको अवधिमा नेपालमा २२ हजार दुई सय ६ जना कालाजार सङ्क्रमित भएका थिए।
तथ्याङ्क अनुसार सन् २००० मा कालाजारका कारण ५०, सन् २००१ मा २२, सन् २००२ मा १२ र सन् २००३ मा ३२ जनाको ज्यान गएको थियो। तर, पछिल्लो नौ वर्षयता कालाजारले मृत्यु हुनेको संख्या ह्वात्तै घटेको देखिन्छ।
सन् २०१७ मा कालाजार सङ्क्रमणबाट १२ जनाको ज्यान गएको थियो। कालाजारका कारण सन् २०१८ मा ४, २०१९ मा एक, २०२० मा सात, २०२१ मा पाँच, २०२२ मा तीन, २०२३ मा एक, २०२४ मा दुई र २०२५ मा एक जनाको मृत्यु भएको थियो।
नेपालको त्यो भुल
नेपालमा सन् १९६० मा पहिलो पटक कालाजार सङ्क्रमित व्यक्त भेटिएको थियो। त्यो बिचमा मलेरिया उन्मुलन अभियान चलेकाले कालाजार सङ्क्रमण गराउने भुसुना पनि लामखुट्टे सँगै मारिए।
तर, करिब २० वर्षपछि सन् १९८० मा नेपालमा पुन कालाजारको सङ्क्रमण देखियो। सन् १९९० सम्म आइपुग्दा त नेपालका पूर्वी तराइका १२ वटा जिल्लामा यो रोग फैलिइसकेको थियो। यो समस्या नेपालसँगै भारत लगायतका दक्षिण एसियाली देशमा पनि थियो।
सन् २००५ मा विश्व स्वास्थ्य संगठनको समन्वयमा नेपालसहित भारत र बङ्गलादेशबिच सन् २०१४ सम्ममा कालाजार निवारण गर्ने प्रतिबद्धता सहित त्रिपक्षीय सम्झौता भयो। सन् २००५ मा नै ‘नेश्नल इलिमिनेशन प्लान’ बनाएर कालाजार निवारणका लागि काम गरेको नेपालले सन् २०१० मा कालाजार निवारण सम्बन्धी ‘नेश्नल स्ट्राटेजिक गाइडलाइन’ बनायो र यो गाइडलाइन सन् २०१४ र २०१९ मा संशोधन गर्यो।
सरकारले सङ्क्रमणको समस्या भएका तराइका १२ जिल्ला लक्षित गरेर कालाजार निवारणका कार्यक्रम सञ्चालन गरिरहेको थियो। तर यो अन्य जिल्लामा समेत फैलियो। नेपाल, भारत, बङ्गलादेशपछि भुटान र थाइल्यान्डमा समेत कालाजारका बिरामीको चाप देखिएपछि सन् २०१४ मा यी पाँच देशबीच कालाजार निवारणका लागि अर्को सम्झौता भयो।
नेपालसँग सम्झौता गरिएकामध्ये बंगलादेश कालाजार निवारण गर्ने सबैभन्दा पहिलो मुलुक बन्यो। बङ्गलादेशले सन् २०२३ मा कालाजार निवारण भएको घोषणा गर्यो। सन् १९९० मा नेपालका १२ जिल्लामा देखिएको कालाजारको समस्या अन्य जिल्लामा ध्यान नपुगेकाले सन् २०२३ मा आइपुग्दा ४७ जिल्लामा कालाजार फैलियो।
हाल नेपालमा कालाजार सङ्क्रमितको संख्या कम हुँदै गएकाले सन् २०२६ को अन्त्यसम्ममा दक्षिणपूर्वी एसियन मुलकुमध्ये नेपाल कालाजार निवारण गर्ने दोस्रो मुलुक बन्ने लक्षमा रहेको डा. दाहाल बताउँछन्।
निवारणको घोषणा गरिए पनि चुनौती भने कायमै रहेको दाहालले बताए। सरकारले पर्याप्त बजेटको व्यवस्थापन गरेर योजना बनाएर र कार्यान्वयन गर्नुपर्ने डा मरासिनीको सुझाव छ। उनी अहिले कालाजारको अनुसन्धानमा सरकार चुकिरहेको र यसबारे जनावरमा समेत अनुसन्धान गर्नुपर्ने सुझाव दिन्छन्।
कसरी निवारणको चरणमा पुग्यो नेपाल?
विशेष गरी सन् २००५ मा भारत र बाङ्ग्लादेशसँग क्षेत्रीय सम्झौता गरेपछि नेपाल सरकारले 'कालाजार निवारण कार्यक्रम' सञ्चालन गर्दै आएको छ। सरकारले गाउँका स्वास्थ्य संस्थामा कालाजारको पहिचानका लागि ‘आरडिटी (र्यापिड डाइग्नोष्टिक टेस्ट)’ गर्दै आएको दाहालले जानकारी दिए।
त्यसैगरी कालाजार सङ्क्रमित बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने र बिरामीलाई प्रोत्साहनका लागि उपचारपछि यातायात खर्चको समेत व्यवस्था गरिएको उनले बताए।
यो रोग निवारणका लागि कालाजार बढी देखिने प्रभावित क्षेत्रका घर-गोठहरूमा नियमित रूपमा भुसुना मार्ने कीटनाशक औषधि छर्ने काम अहिले पनि गरिरहेको उनले बताए। त्यसैगरी भुसुनाको टोकाइबाट बच्न जोखिमयुक्त समुदायमा झुल समेत वितरण गरियो।
स्वास्थ्यकर्मीहरूलाई घर-घरमै पठाएर शङ्कास्पद बिरामीहरू खोज्ने र समयमै अस्पताल पुर्याउने जस्ता निगरानी र खोजतलास अभियानका काम समेत गरिरहेको डा. दाहाल बताउँछन्। नयाँ ठाउँमा कालाजार देखिने बित्तिकै केन्द्रमा समेत थाहा हुने सूचना प्रणाली भएको उनले सुनाए।
यस्ता विभिन्न प्रयासका कारण २६ वर्षयता हाल नेपालमा कालाजारका बिरामी करिब ९२ प्रतिशतले घटेको डा. दाहाल बताउँछन्। तर,जलवायु परिवर्तन र मानिसको आवतजावतका जस्ता कारणले पछिल्ला वर्षहरूमा पहाडी र हिमाली जिल्लाहरूमा समेत कालाजारका नयाँ बिरामी देखिन थालेकाले सरकारले ती क्षेत्रहरूमा पनि निगरानी गर्नुपर्ने चुनौती बढेको उनले बताए।
सबैभन्दा धेरै कर्णालीमा सङ्क्रमित
सन् २०२० देखि २०२५ सम्म पाँच वर्षको अवधिको तथ्याङ्क हेर्दा सात प्रदेशमध्ये सबै भन्दा धेरै कर्णालीमा तीन सय ३० जना व्यक्ति कालाजार सङ्क्रमित भएको देखियो। त्यसैगरी सुदूरपश्चिममा दुई सय चार, कोशीमा दुई सय चार, लुम्बिनीमा एक सय ९८, बागमतीमा एक सय २१, मधेसमा ९८ र गण्डकीमा सबैभन्दा कम २५ जना सङ्क्रमित भएको देखियो।
सन् २०२२ देखि २०२५ सम्म चार वर्षको अवधिको तथ्याङ्क हेर्दा सबैभन्दा धेरै १५ वर्षभन्दा माथिका व्यक्ति नै कालाजार सङ्क्रमित भएको देखिन्छ। सन् २०२५ को तथ्याङ्क अनुसार चार वर्ष सम्मको उमेर समूहका कालाजार सङ्क्रमितमध्ये सात प्रतिशत बालबालिकामा कालाजार देखिएको थियो भने पाँचदेखि १५ वर्षसम्मको उमेर समूहमा १० प्रतिशत र १५ वर्षभन्दा माथिको उमेरसमूहका ८३ प्रतिशत व्यक्तिमा कालाजार सङ्क्रमण भएको थियो।
नेपालमा कालाजार उन्मुलन नभई निवारण उन्मुख मात्र
नेपालमा कालाजार उन्मुलन हुन लागेको हैन। हाललाई यसको निवारण गर्ने लक्ष राखिएको हो। कुनै निश्चित भौगोलिक क्षेत्र तथा जिल्लाबाट कालाजार रोगलाई जनस्वास्थ्यको समस्या नरहने गरी बिरामीको सङ्ख्यालाई न्यूनतम तहमा झार्नुलाई रोगको निवारण भनिन्छ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कुनै जिल्लामा लगातार तीन वर्षसम्म प्रति दश हजार जनसङ्ख्यामा एक जनाभन्दा कम व्यक्तिमा कालाजार देखिएको खण्डमा निवारण भएको मानिन्छ। निवारणको चरणमा रोग पूर्ण रूपमा नष्ट भइसकेको हुँदैन, तर नियन्त्रित अवस्थामा हुन्छ। निवारण हासिल गरेपछि समेत रोग पुनः फैलिन नदिन निरन्तर निगरानी तथा सावधानी अपनाइरहनुपर्ने हुन्छ।
तर, विश्वको कुनै ठूलो निश्चित भू-भागबाट कालाजारको परजीवीको सङ्क्रमण सधैँका लागि शतप्रतिशत शून्यमा झार्नुलाई भने उन्मुलन भनिन्छ। संसारको कुनै पनि कुनामा कालाजारको नयाँ बिरामी नभेटिने अवस्थामा पुग्नु कालाजार उन्मुलनको अवस्था हो। कालाजार वा कुनै पनि रोग उन्मुलन भयो भन्नुको अर्थ यो रोगको सङ्क्रमण पूर्ण रूपमा सकियो भन्ने हुन्छ।
रोगको अस्तित्व नै सकिने भएकाले एक पटक उन्मुलन भएपछि भविष्यमा त्यस्तो रोगको रोकथाम तथा निवारणका लागि नियमित खोप दिने तथा औषधि उपचार गर्ने जस्ता कार्यक्रम गर्नु पर्दैन। उदाहरणका रूपमा बिफरलाई विश्वबाट नै उन्मुलन भइसकेको रोगका रूपमा लिन सकिन्छ।
कालाजार जोक हैन, ज्यानै लिने जोखिम
कालाजार, सङ्क्रमित भुसुनाको टोकाइबाट सर्ने सरुवा रोग हो। 'लेश्मानिया डोनोभानी' नामक परजीवी (कीटाणु) बोकेको सङ्क्रमित भुसुनाको टोकाइबाट यो रोग मान्छेमा सर्छ। कालाजार सङ्क्रमित व्यक्तिलाई टोकेको भुसुनाले अन्य स्वस्थ व्यक्तिलाई टोकेको खण्डमा यो रोग सर्न सक्छ।
व्यक्तिमा तीन प्रकारका कालाजारको सङ्क्रमणको जोखिम हुन्छ। कालाजार सङ्क्रमण गराउने भुसुनाको टोकाइबाट हुने लेश्मानिया डोनोभानी नामक पराजिवी भिसेरल लेश्मानियासिस, क्युटेनियस लेश्मानियासिस र म्युकोक्युटेनियस लेश्मानियासिसगरी तीन प्रकारका हुन्छन्।
भिसेरल लेश्मानियासिस कालाजारले शरीरका फियो, कलेजो र हड्डीको मासीलाई असर पुर्याएर ज्यानै जानसक्ने जोखिम हुने भएकाले यसलाई सबैभन्दा गम्भीर प्रकारको कालाजार मानिन्छ। क्युटेनियस लेश्मानियासिस किसिमको कालाजारले छालामा घाउ भएर असर गर्ने भएकाले निको हुन समेत समय लाग्छ। म्युकोक्युटेनियस लेश्मानियासिस किसिमको कालाजारको सङ्क्रमणले व्यक्तिको नाक, मुख र घाँटीभित्रको भित्री छालालाई नष्ट गर्छ।
साउन २६, २०८३ मंगलबार १८:११:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।