पाँचबुँदे सहमतिपछि इन्टर्न विद्यार्थी हरिजनले तोडे अनशन

पाँचबुँदे सहमतिपछि इन्टर्न विद्यार्थी हरिजनले तोडे अनशन

काठमाडौं : चिकित्सा शिक्षाको एमबिबिएस र बिडिएस कार्यक्रमका इन्टर्न विद्यार्थीहरूले न्यायोचित निर्वाह भत्ता (स्टाइपेन्ड) पाउनुपर्ने मुख्य माग राखी माइतीघर मण्डलामा अनशनरत इन्टर्न विद्यार्थी डिल्ली हरिजनले सरकारसँग पाँच बुँदे सहमति भएपश्चात् अनसन तोडेका छन्। 

सरकार र एमबीबीएस तथा बीडीएसका इन्टर्न स्टाइपेण्ड एकरूपता अभियानका संयोजक हरिजनबीच शुक्रबार भएको सहमति अनुसार सरकारी तथा निजी दुवै शिक्षण संस्थामा कार्यरत इन्टर्न विद्यार्थीहरूलाई स्वास्थ्य सेवाको आठौँ तहको सुरु तलब स्केलको ५० प्रतिशत (आधा) रकम निर्वाह भत्ताका रूपमा उपलब्ध गराउने विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयमा छलफल हुने छ। छलफलका सहमतिलाई त्यसपछि बस्ने चिकित्सा शिक्षा आयोगको बैठकमा एजेण्डाका रुपमा पेस गरिने छ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा ७ बमोजिम आयोगको बैठकमा इन्टर्न विद्यार्थीहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने र आगामी साउन २८ गतेको बैठकमा यसबारे छलफल गर्ने उल्लेख छ। यस्तै, श्रम ऐन २०७४ बमोजिम इन्टर्न र आवासीय विद्यार्थीहरूको कार्यघण्टा सम्बन्धी व्यवस्था सरकारी र निजी दुवै क्षेत्रमा समान रूपमा कार्यान्वयन गर्न समिति गठन गरिने छ।

मेडिकल कलेजहरूले लिने अतिरिक्त शुल्कका सम्बन्धमा छानबिन गरी फिर्ता गराउने र स्वीकृत शुल्क मात्र लिन पाउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति जुटेको छ। यी विषयहरूमा थप निर्णय लिन साउन २८ गते पुनः सरोकारवालाहरूको बैठक बस्ने सहमति पत्रमा उल्लेख छ। 

एमबिबिएस तथा बिडिएस विद्यार्थीहरूले छात्रावासमा बस्नुपर्ने अनिवार्य व्यवस्थालाई परिवर्तन गरी वैकल्पिक बनाउने विषयमा आयोगले गरेको परिपत्र कार्यान्वयनका लागि छलफल र अनुगमन गर्ने सहमति भएको छ।  

साउन २२, २०८३ शुक्रबार २०:१९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।