एआईको प्रयोग गरी बनाइयो ब्याक्टेरियालाई लक्षित गर्ने नयाँ भाइरस
एजेन्सी : अमेरिकी अनुसन्धानकर्ताहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी विश्वमै पहिलो पटक पूर्ण रूपमा नयाँ र सक्रिय भाइरसहरूको जीनोम डिजाइन गरेका छन्।
स्ट्यानफोर्ड विश्वविद्यालयको टोलीले विकास गरेका यी भाइरसहरू प्रयोगशालामा आफ्नो सङ्ख्या वृद्धि गर्न र ब्याक्टेरियालाई सङ्क्रमित गर्न सक्षम देखिएका छन्।
चिकित्सा विज्ञान र सिन्थेटिक बायोलोजीको क्षेत्रमा यसलाई कोशेढुङ्गा मानिएको छ। जर्नल साइन्समा प्रकाशित विवरण अनुसार यस सफलताले एन्टिबायोटिक औषधिको प्रभाव कम हुँदै गएका जटिल सङ्क्रमणहरूको उपचारमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।
अनुसन्धान टोलीले 'ईभीओ १' र 'ईभीओ २' नामक एआई मोडलहरूको प्रयोग गरेको थियो। जसरी च्याट जीपीटी जस्ता लार्ज ल्याङ्ग्वेज मोडलले शब्दहरूको भविष्यवाणी गर्छन्, यी मोडलहरूले भाइरस, ब्याक्टेरिया र मानव आनुवंशिक कोडको आधारमा नयाँ जैविक संरचनाको भविष्यवाणी गरेका थिए।
एआईले तयार पारेका ३०२ वटा डिजाइनमध्ये १६ वटा भाइरसले 'ई. कोलाई' ब्याक्टेरियालाई नष्ट गर्न प्रभावकारी भूमिका खेलेका थिए।
उपचारमा सम्भावना र सुरक्षा चुनौती
यी भाइरसहरू विशेष गरी 'ब्याक्टेरियोफेज' हुन्, जसले केवल निश्चित ब्याक्टेरियालाई मात्र असर गर्छन् र मानव कोषिकालाई कुनै हानि पुर्याउँदैनन्। स्ट्यानफोर्डका असिस्टेन्ट प्रोफेसर ब्रायन हाईका अनुसार जेनेरेटिभ एआईको माध्यमबाट आफ्नै प्रतिलिपि बनाउन सक्ने पूर्ण जीनोम तयार पारिएको यो पहिलो पटक हो।
यद्यपि, यो प्रविधिले सुरक्षासम्बन्धी प्रश्नहरू पनि खडा गरेको छ। जोन्स हप्किन्स विश्वविद्यालयका विशेषज्ञहरूले एआईको यो क्षमताले भविष्यमा हानिकारक जैविक हतियार वा नयाँ रोगहरू सिर्जना हुन सक्ने जोखिमप्रति सचेत गराएका छन्। उनीहरूले यो प्रविधिको दुरुपयोग रोक्नु अबको मुख्य चुनौती रहेको बताएका छन्।
अनुसन्धानकर्ताहरूले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै तालिमका क्रममा एआईलाई मानव वा जटिल जीवलाई सङ्क्रमित गर्ने भाइरसहरूको तथ्याङ्क उपलब्ध नगराइएको स्पष्ट पारेका छन्।
सम्पूर्ण अनुसन्धान सुरक्षित प्रयोगशालाको नियन्त्रित वातावरणमा गरिएको थियो। वैज्ञानिकहरूका अनुसार हाल अपनाइएका सुरक्षा मापदण्डहरूले यो प्रविधिको प्रयोग सकारात्मक उद्देश्यका लागि मात्र हुने सुनिश्चित गर्ने प्रयास गरेका छन्।
साउन २४, २०८३ आइतबार ०८:२०:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।