बुटवलमा पाल्पाको डल्ले खुर्सानीमा अत्यधिक विषादी, परीक्षणपछि गरियो नष्ट

बुटवलमा पाल्पाको डल्ले खुर्सानीमा अत्यधिक विषादी, परीक्षणपछि गरियो नष्ट

बुटवल : बुटवल कृषि उपज थोक बजार केन्द्रमा बिक्रीका लागि ल्याइएको डल्ले (अकबरे) खुर्सानीमा अत्यधिक विषादी भेटिएपछि नष्ट गरिएको छ।

प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाबाट ल्याइएको डल्ले खुर्सानी मानव स्वास्थ्यका लागि अयोग्य ठहरिएको हो।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ, बुटवलका अनुसार आज परीक्षण गरिएका १० वटा नमुनामध्ये ९ वटा उपभोगका लागि योग्य पाइए पनि डल्ले खुर्सानीमा भने तोकिएको मापदण्डभन्दा बढी विषादी भेटिएको थियो।

प्रयोगशालाका नायव प्राविधिक सहायक राजीव भण्डारीका अनुसार उक्त डल्ले खुर्सानीमा ‘अर्गानोफस्फेट’ समूहको विषादीको रोकावट ४९.९१५ प्रतिशत देखिएको छ।

त्यस्तै ‘कार्बामेट’ समूहको रोकावट भने २.०२०९ प्रतिशत पाइएको थियो। विषादीको मात्रा उच्च देखिएपछि बिक्रीका लागि राखिएको उक्त खुर्सानीको ब्याच पूर्ण रूपमा विसर्जन (नष्ट) गरिएको छ।

प्रयोगशालाको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी भएको खानेकुरा उपभोगका लागि सुरक्षित मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म भएका खानेकुरा केही दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गर्नुपर्छ।

त्यसैगरी ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा उपभोगका लागि सर्वथा अयोग्य मानी अनिवार्य नष्ट गर्नुपर्ने सरकारी प्रावधान छ।

आजै परीक्षण गरिएका अन्य ९ वटा नमुनामा भने विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम देखिएकाले उपभोगका लागि योग्य ठहरिएका छन्।

परीक्षण गरिएका अन्य कृषि उपजमा केरा, बोडी, सिमी, तितेकरेला, माछे खुर्सानी, गोलभेडा, स्याउ र हरियो खुर्सानी रहेका थिए।

बुटवल कृषि उपज थोक बजारमा उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै पछिल्लो समय नियमित तथा आकस्मिक रूपमा तरकारी र फलफूलको विषादी परीक्षण गरिँदै आइएको छ। यसअघि पनि मापदण्डभन्दा बढी विषादी भेटिएका तरकारी जफत गरी नष्ट गरिएको थियो।

साउन २६, २०८३ मंगलबार १२:३६:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।