पाल्पाको सिद्धबाबामा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

पाल्पाको सिद्धबाबामा दर्शनार्थीको घुइँचो (तस्बिरहरू)

बुटवल : साउन महिनाको अन्तिम सोमबार आज पाल्पाको तिनाउ गाउँपालिका-३, दोभानस्थित प्रसिद्ध सिद्धबाबा मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ।

बिहानैदेखि पानी परिरहे पनि श्रद्धालुहरू झरीको पर्वाह नगरी भगवान् शिवको पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।

साउन महिना र विशेषगरी सोमबारको दिनलाई शिवको आराधनाका लागि अति पवित्र मानिन्छ।

सिद्धार्थ राजमार्गसँगै जोडिएको र बुटवलबाट छोटो दूरीमै पर्ने भएकाले यहाँ पाल्पा र रुपन्देहीका मात्र नभई देशका विभिन्न स्थानबाट भक्तजनहरू दर्शनका लागि आउने गर्छन्।

सिद्धबाबा मन्दिरमा पुगेर श्रद्धापूर्वक पूजा-आराधना गरेमा चिताएको मनोकामना पूरा हुने जनविश्वास छ। आफ्नो भाकल पूरा भएपछि मन्दिरमा आएर परेवा उडाउने यहाँको पुरानो परम्परा हो।

भगवान् शिवलाई समर्पित यस मन्दिर परिसरमा शिवलिङ्गका साथै गणेश, नाग र मनसा देवीलगायतका मूर्तिहरू रहेका छन्। यहाँ बालिएको अखण्ड धुनीले भक्तजनलाई थप आकर्षित गर्ने गरेको छ।

धार्मिक आस्थासँगै यो मन्दिर ऐतिहासिक तथा पर्यटकीय दृष्टिले पनि निकै महत्त्वपूर्ण मानिन्छ।

किंवदन्तीअनुसार, भारतको उज्जैनका राजा भर्तृहरिले राजकाज त्यागेर यसै क्षेत्रमा आएर तपस्या गरेका थिए। त्यसैले यस क्षेत्रलाई सिद्धपुरुष भर्तृहरिको पवित्र तपोभूमिका रूपमा समेत पुजिने गरिन्छ।

साउने सोमबार, शिवरात्रि, तीज र शनिबारका दिनहरूमा हजारौंको सङ्ख्यामा भक्तजनको उपस्थिति रहने यस मन्दिरले यस क्षेत्रको धार्मिक पर्यटनलाई महत्त्वपूर्ण टेवा पुर्याउँदै आएको छ।

साउन २५, २०८३ सोमबार १०:०४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।