रास्वपा सांसद हरिलाई मन परेन ‘सिंहदरबार’, नाम फेर्दैमा सुशासन आउँछ ?

काठमाडौं : नेपालको राजनीतिक, प्रशासनिक र ऐतिहासिक केन्द्र 'सिंहदरबार' - जसलाई सुशासन, अधिकार र निर्णयको सर्वोच्च केन्द्र मानिन्छ। तर, यही सिंहदरबारको नाम फेर्नुपर्ने आवाज उठेको छ, त्यो पनि राज्य व्यवस्था तथा सुशासन समितिकै सभापतिबाट!

राजनीतिक परिवर्तनसँगै देशका धेरै संरचना र संस्थाका नाम फेरिए, तर सिंहदरबारको नाम फेरिएन। अहिले सत्ताधारी दलकै सांसदले सुशासनसँग जोडेर यसको नाम बदलेर अनामनगर दरबार राख्न माग गरेका छन्।

समस्या नाममा कि काममा? के सिंहदरबारको नाम बदल्नु उचित हो? आजको विशेष रिपोर्ट यसै विषयमा केन्द्रित छ।

OOO

ललितपुरमा आइतबार आयोजित ‘नेसनल गभर्नेन्स समिट’मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले राजनीतिक नेतृत्व र सुशासनमाथि प्रश्न उठाउँदै एउटा नयाँ र विवादित बहसको सुरुवात गरे।

कार्यक्रममा ढकालले राजनीतिक नेतृत्व स्वयं अनुशासित नभएसम्म मुलुकमा सुशासन कायम हुन नसक्ने बताए। उनले पहुँचको भरमा चल्ने प्रवृत्ति अन्त्य नभएसम्म जति कानुन बनाए पनि परिवर्तन सम्भव नहुने दाबी समेत गरे।

तर, योभन्दा पनि बढी चर्चाको विषय बन्यो- सिंहदरबारको नाम फेर्ने उनको प्रस्ताव।

उनले भने "परिवर्तन पछाडि सबै ठाउँहरूको नाम परिवर्तन भयो।  हामीसँग सिंह नै छैन, तर त्यसको नाम सिंहदरबार नै छ। त्यसलाई अनामनगर दरबार राखिदिएको भए हुन्थ्यो होला।"

२०६२/०६३ को दोस्रो जनआन्दोलनको बलमा गणतन्त्र स्थापनापछि राजा र राजतन्त्रसँग जोडिएका धेरै संरचनाको नाम बदलिए:

'श्री ५ को सरकार' 'नेपाल सरकार' भयो, 'राजकीय प्रज्ञा प्रतिष्ठान'  'नेपाल प्रज्ञा प्रतिष्ठान' बन्यो, राजमार्गलाई लोकमार्ग भन्न थालियो। 

तर, राणाकालमा बनेको र राजतन्त्र तथा राणा शासनको प्रतीकका रूपमा रहेको 'सिंहदरबार' को नाम बदलिएन। यसमै सांसद ढकालको चित्त नबुझेको देखियो। अनि उनले अब सिंह छैन भन्दै नाम बदल्न सार्वजनिक मञ्चबाट प्रस्ताव गरे। अब संक्षेपमा सिंहदरबारको ऐतिहासिक पक्ष उल्लेख गरौँ

OOO

विक्रम संवत् १९६० मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले युरोपेली वास्तुकला शैलीमा इन्जिनियर कुमार नरसिंह राणाको नेतृत्वमा दरबार बनाउन लगाए। दरबारमाथि उनले सिंहको ढलोटको मूर्ति राख्न लगाए। अनि नाम जुर्यो सिंहदरबार।

चन्द्र शमशेरले प्रारम्भमा सिंहदरबारलाई आफ्नो निजी निवास अर्थात् श्री ३ को दरबारका रूपमा बनाउन लगाएका थिए।विक्रम संवत् २००७ सालमा राजनीतिक परिवर्तनपछि सँगै राणा शासनको अन्त्य भयो। अनि सरकारले २०१० सालमा यो दरबारलाई मुआब्जा दिएर अधिग्रहण गरेर यसलाई नेपाल सरकारको केन्द्रीय प्रशासनिक सचिवालय बनायो। त्यसयता यो नेपालको प्रमुख प्रशासकीय केन्द्रको रूपमा रहेको छ। 

निर्माणकालदेखि २०८३ सम्मका घटना हेर्ने हो भने यसले तीन निकै ठूलो संकट ब्यहोरीसक्यो। विक्रम संवत् २०३१ साल असार २५ गते सिंहदरबारमा भयानक आगलागी भयो। दरबारको उत्तर, दक्षिण र पश्चिम भाग जलेर नष्ट भयो। धन्य, अगाडिको ग्यालरी बैठक क्षेत्र भने जोगियो। पुनर्निर्माण गरियो।

विक्रम संवत् २०७२ को विनाशकारी भूकम्पले पनि सिंहदरबारलाई नराम्रोसँग क्षति पुर्यायो। सरकारले यसको ऐतिहासिक वास्तुकलालाई जोगाउन अत्याधुनिक प्रविधि प्रयोग गरेर प्रबलीकरण गर्यो। 

२०८२ भदौ २४ को विध्वंसको मुख्य निशानामा यही सिंहदरबार पर्यो। यसको ग्यालरी बैठकसहितको संरचना आगलागीबाट नराम्रोसँग जल्यो। अब यसको वास्तुकला र पुरानो संरचना पुन जोगिन सक्छ या सक्दैन पक्का भइसकेको छैन।

OOO

जेनजी आन्दोलनको बलमा भएको फागुन २१ को निर्वाचनमा अपार बहुमत पाएको रास्वपाका सांसद समेत रहेका सभापति ढकालले सिंहदरबारको पुनर्निर्माणमा भन्दा पनि यसको नाम बदल्न जोड दिँदा अहिले यसबारे मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्।

एक पक्षको तर्क छ- देशमा राजतन्त्र र राणा शासन ढलिसकेपछि त्यसका अवशेष र प्रतीकहरू पनि फेरिनुपर्छ। ​​अर्कोतर्फ, इतिहास र वास्तुकलाविद्हरूको तर्क छ- सिंहदरबार केवल एउटा नाम मात्रै नभई नेपालको एक शताब्दी लामो राजनीतिक र वास्तुकलाको जीवन्त इतिहास हो। यसको आफ्नै ऐतिहासिक ब्रान्डिङ र अन्तर्राष्ट्रिय पहिचान छ। समस्या नाममा हैन, प्रशासनिक कार्यशैली, सोच र सुशासनमा सुधारको गतिमा हो। 

प्रश्न निकै पेचिलो पनि छ “नाम फेर्दैमा सुशासन आउँछ त?” 

अब बाँकी खबर

१- कर्णालीमा मुख्यमन्त्री एक्लै

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमतिअनुसार चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। 

प्रदेश सरकारमा एमाले र नेपाली कांग्रेसको गठबन्धन भत्किएर एमाले र नेकपाको गठबन्धन बने पनि अधिकांश प्रदेशमा सरकारै बनेको छैन। मुख्यमन्त्री नियुक्त भएको कर्णालीमा पनि सरकार विस्तार हुन सकेको छैन। 

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद् विस्तारबारे प्रदेशमा छलफल जारी रहेको र सहमतिको चरणमा आफूहरू पुगेको बताए। 

२- बालेन सरकारमाथि गगनको प्रहार

नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीबाट नागरिक हताश भएको दाबी गरे।

आइतबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूले नागरीहरूसँग कुरा गर्दा उनीहरूमा अनिश्चित, हतास र आक्रोश भेटेको बताए।

थापाले भने,‘केही नागरिकमा अनिश्चितता भएको पाउँछु। केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन, भोलि पनि हुन्न भने हतास भएको पाउँछु। केही नागरिकमा आक्रोश छ।’

३- एसियन गेम्समा नेपालबाट १ सय ३६ खेलाडी सहभागी हुने

जापानको आइची नागोयामा सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म हुने २०औँ एसियन गेम्समा नेपालबाट २२ खेलमा १ सय ३६ खेलाडी सहभागी हुने भएका छन्। जसमा पुरुषतर्फ ८० र महिलातर्फ ५६ खेलाडी छन्।

२० औँ एसियन गेम्समा नेपालबाट आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइकलिङ, गल्फ, कबड्डी, कराँते, लगायतका खेलमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन्।

४- पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर फैलियो

पूर्वअमेरिकी राष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डी तथा शरीरका अन्य भागहरूमा समेत फैलिएको र त्यो निकै पीडादायी रहेको उनका छोरा हन्टर बाइडेले बताएका छन्।

बिबिसीको 'न्युजनाइट' कार्यक्रमसँगको अन्तर्वार्तामा हन्टर बाइडेले आफ्ना ८३ वर्षीय बुबाको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्। 

साउन २४, २०८३ आइतबार २१:५७:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।