ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ : नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पछिल्लो समय पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ। पूर्वाधार विकास, होमस्टे व्यवस्थापन तथा व्यापक प्रचारप्रसारका कारण गत आर्थिक वर्ष २०८२/८३ मा ३७ हजार ५२० जना पर्यटकले ढोरपाटनको भ्रमण गरेका छन्। यो सङ्ख्या अघिल्लो आव २०८१/८२ को तुलनामा करिब १३ हजारले बढी हो।

ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार भ्रमणका लागि आउनेमा अधिकांश आन्तरिक पर्यटक रहेका छन्। समीक्षा वर्षमा ३७ हजार २७० जना नेपाली पर्यटक ढोरपाटन पुगेका छन्। यसअघि आव २०८०/८१ मा १५ हजार ५७३ जना पर्यटक यहाँ आएका थिए।

रेञ्जर सुवेदीका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै पर्यटकबाट प्राप्त हुने राजस्व पनि बर्सेनि बढिरहेको छ। आर्थिक वर्ष २०८२/८३ मा ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या ३७ हजार ५२० पुगेको जनाउँदै तीमध्ये ३७ हजार २७० नेपाली पर्यटक रहेका उनले जानकारी दिए। उनका अनुसार आव २०८१/८२ मा २३ हजार ६९२ र आव २०८०/८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन पुगेका छन्।

ढोरपाटन क्षेत्रको प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकीपाटनको चर्चा र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण सङ्ख्या बर्सेनि बढ्दै गएको सुवेदीको भनाइ छ। उनका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि भएपछि आव २०८२/८३ मा पर्यटक प्रवेश शुल्कबाट ४७ लाख ६८ हजार ४०५ र आव २०८१/८२ मा ३१ लाख २१ हजार ५०० राजस्व सङ्कलन भएको थियो। 

पर्यटक सूचना प्रणलीको विकास, पर्यटन पदमार्गको रुट कायमलगायत पूर्वाधार विस्तारका कारण ढोरपाटनको प्रचारप्रसार भएपछि आन्तरिक पर्यटकको आगमन बढेको आरक्ष कार्यालयका रेञ्जर सुवेदीले बताए। उनका अनुसार आरक्षले आन्तरिक तथा नेपाली पर्यटकलाई ढोरपाटन प्रवेशका लागि १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र विदेशी पर्यटकलाई तीन हजार प्रवेश शुल्क लिँदै आएको छ। 

यस्तै आरक्षले ढुङ्गा गिट्टी बालुवाबाट आर्थिक वर्ष २०८२/८३ मा एक करोड एक लाख २७ हजार ९५३ सङ्कलन गरेको छ। गत आर्थिक वर्षको तुलनामा सङ्कलन भएको राजस्व ४६ लाख ४१ हजारले बढी हो।

“ढोरपाटनको आकर्षण अहिले बाहिर आउन थालेको छ। यहाँ आउने पर्यटकको सङ्ख्या वृद्धि हुनुको प्रमुख कारण प्रचारप्रसार रहेको छ। पर्यटकीय पूर्वाधार थपिनु, बुकीपाटन, बुकीफुल र जलजलाको चर्चासँगै पदयात्रीको रोजाइ पर्नु र होटल तथा घरबासको व्यवस्थापनका कारण पर्यटकमा वृद्धि भएका हुन्”, सुवेदीले भने।

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्। समुद्री सतहबाट दुई हजार ९०० मिटरको ढोरपाटन उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्न थालेका छन्। पर्यटकलाई शुल्क तिरेर पालसहित बस्ने व्यवस्था पनि मिलाइएको आरक्ष कार्यालयका रेञ्जर सुवेदीले जानकारी दिए।

साउन २३, २०८३ शनिबार १४:०६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।