सरकारलाई कार्यशैली सुधार्न सांसद झाको सुझाव, भने- ‘अब कालो चस्मा पनि हटाऔँ’
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनको शैलीमा सुधारको आवश्यकता औँल्याएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा उनले राज्य सञ्चालकहरूको नियत र निष्ठामा प्रश्न नभए पनि कार्यशैलीमा कमजोरी रहेको टिप्पणी गरे।
शासकीय प्रणालीमा रहेका व्यक्तिहरूमा 'सबै थाहा छ' भन्ने भ्रम त्यागेर निरन्तर सिक्ने तत्परता हुनुपर्नेमा झाको जोड थियो। गुगलका सिइओ सुन्दर पिचाईको भनाइलाई सन्दर्भका रूपमा प्रस्तुत गर्दै उनले भने, "जुन दिन हामीलाई सबै कुरा थाहा छ भन्ने लाग्छ, त्यो दिन विकासको गति रोकिन्छ। त्यसैले राज्य सञ्चालनका क्रममा आफूलाई के थाहा छैन भन्ने कुरा स्वीकार गरेर सुधार्ने प्रयास गर्नुपर्छ।"
नागरिकले आफ्नो सामान्य दैनिकीका लागि पनि राजनीतिज्ञ चिन्नुपर्ने अवस्था रहनुलाई उनले कमजोर राज्यको सूचकका रूपमा अर्थ्याए। जननिर्वाचित प्रतिनिधिहरू जनतासँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने तर्क गर्दै उनले सरकार र राजनीतिक नेतृत्वले जनभावना बुझ्ने संस्कृतिलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।
झाले भने, "हामीले हाम्रो सवारी साधनको कालो सिसा त हटायौं, कालो स्टिकर त हटायौं, अब सम्भवतः कालो चस्मा पनि हटाउनु पर्छ। त्यो पनि आवश्यक छ।" यदि राज्य सन्तुलित नभए सन्तुलित समुन्नत विकास गर्न सकिने उनको भनाइ थियो।
मुलुकको आर्थिक मन्दी र निजी क्षेत्रको त्रासप्रति चिन्ता व्यक्त गर्दै उनले शान्ति सुरक्षाको अनुभूति दिलाउनुपर्ने प्रहरी प्रशासनबाटै व्यवसायीहरू त्रसित हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरे।
अर्थ मन्त्रालयका प्रयासहरू कागजमा देखिए पनि व्यवहारमा नउत्रिएको दाबी गर्दै झाले भने, "निजी क्षेत्र त्रसित छ। प्रहरी देखेपछि म सुरक्षित छु भन्ने सोच्नुपर्ने नागरिकहरू प्रहरी देखेर तर्सिन्छन्। कुन बेला धरपकड गर्ला, कुन बेला मेरो घरमा छापा मार्ला भनेर। त्यसैले गर्दा निजी क्षेत्रलाई आत्मविश्वास दिनुस् न। भएको पैसा खर्च गर्न दिनुस्, बैंकमा भएको पैसा लगानी गर्न दिनुस्, त्यो वातावरण दिनुस्, त्यो आवश्यक छ।"
मधेसको भावना, प्रवासमा रहेका नेपालीको क्षमता र निजी क्षेत्रको लगानीलाई साझेदारका रूपमा लिएर अघि बढे मात्रै मुलुकले लोकतन्त्र, समुन्नत विकासको गति समात्न सक्ने उनको भनाइ थियो।
साउन २२, २०८३ शुक्रबार १९:३२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।