‘डिपफेक’को ठगीबाट जोगिन अपनाउनैपर्ने ५ मिनेटको ‘कोडवर्ड’ उपाय
एजेन्सी : अमेरिकाको न्युयोर्ककी एलिजाबेथ बेन्जलाई सेप्टेम्बर २०२५ मा एउटा फोन आयो। फोनमा उनकै १६ वर्षका छोरा जोहनको आवाज थियो। छोरा रुँदै भनिरहेको थियो, ‘मम्मी, मेरो साथीलाई मार्यो!’
एलिजाबेथ तर्सिइन्। लगत्तै फोन अर्कै व्यक्तिले खोसेर, ‘हामीले तेरो छोराको साथीलाई मारिसक्यौँ। यदि १५ मिनेटभित्र सात हजार पाँच सय डलर लिएर नआए तेरो छोरालाई पनि मार्दिन्छौँ।’
एलिजाबेथ अत्तालिँदै पैसा दिन गाडी चलाएर निस्किसकेकी थिइन्। तर, तुरुन्तै उनका अर्का छोराले जोहनलाई सम्पर्क गर्न सफल भए।
जोहन त आफ्नो स्कुलको फुटबल म्याच हेरिरहेका थिए र सुरक्षित थिए। फोनमा सुनिएको आवाज जोहनको थिएन, एआई प्रविधिबाट बनाइएको ‘नकली आवाज’ थियो।
अहिले केही सेकेन्डको अडियो क्लिपबाटै कसैको पनि हुबहु आवाज निकाल्न सकिने गरी एआई प्रविधि विकसित भइसकेको छ। आफ्नै कानले सुनेको आवाजमा पनि आँखा चिम्लेर विश्वास गर्न सकिने अवस्था छैन।
अमेरिकामा मात्रै सन् २०२५ मा अनलाइन ठगीबाट १४८ अर्ब डलरभन्दा बढीको नोक्सानी भएको छ, जसमा एआईमार्फत भएका ठगीहरू अत्यधिक छन्।
एआई प्रविधिका विज्ञ ह्यानी फरिद भन्छन्, ‘रातको २ बजे तपाईंलाई फोन आउँछ, फोनमा आफ्नै छोरा वा छोरीले आफू अप्ठ्यारोमा परेको भन्दै रोएको आवाज सुनिन्छ। यस्तो अवस्थामा जोकोही पनि आत्तिन्छ र ठगको जालमा पर्छ।’
आजकल प्रविधिको विकाससँगै एआईको प्रयोग गरेर मानिसको हुबहु आवाज निकालेर ठगी गर्ने ‘डिपफेक स्क्याम’का घटनाहरू तीव्र रूपमा बढिरहेका छन्। तर, प्रविधिको यो उच्च-प्रविधियुक्त खतराबाट बच्न एउटा निकै सरल र घरेलु उपाय छ- ‘सिक्रेट कोडवर्ड’।
के हो ‘सिक्रेट कोडवर्ड’ उपाय?
ठगहरूले एआईको प्रयोग गरेर आफन्तको आवाज त चोर्न सक्छन्, तर परिवारभित्रका गोप्य कुरा उनीहरूलाई थाहा हुँदैन। यसबाट बच्न आफ्नो परिवारका सदस्यहरू मिलेर एउटा यस्तो ‘कोडवर्ड’ बनाउन सकिन्छ।
कोडवर्ड सम्झन सजिलो तर अरूले अनुमान गर्न गाह्रो हुनुपर्छ। परिवारलाई मात्रै थाहा भएको कुनै पुरानो रमाइलो घटना, कुनै सांकेतिक शब्दलाई प्रयोग गर्दा अरुले यसको अनुमानै लगाउन सक्दैनन्।
जब आफन्तको फोन आउँछ र उनीहरूले कुनै आकस्मिक विपद् परेको, दुर्घटना भएको वा तत्काल पैसा चाहिएको भन्छन्- अत्तालिनुअघि उनीहरूलाई त्यो ‘कोडवर्ड’ सोध्न सकिन्छ। यदि फोन गर्ने व्यक्तिले सही कोडवर्ड भन्न सकेन भने त्यो एआई ठगी हो भन्ने स्पष्ट हुन्छ।
तर, यस्तै घटनाा भोगेकी एलिजाबेथको परिवारसँग पहिले नै त्यो कोडवर्ड थियो। तर फोनमा ठगको खबरले उनी आत्तिएर कोडवर्ड नै सोध्न बिर्सिइन्। ठगहरूको मुख्य हतियार नै मानिसलाई आत्तिने अवस्थामा पुर्याउनु हो। त्यसैले मानसिक रूपमा तयार हुनु उत्तिकै आवश्यक छ।
ठगी चिन्ने संकेत र बच्ने उपाय
ठगहरूले पीडितलाई सोच्ने वा अरू कसैलाई फोन गर्ने समय नै दिँदैनन्। ‘अहिले नै पैसा पठाऊ, नत्र बर्बाद हुन्छ’ भनेर दबाब दिन्छन्। यस्तै उनीहरूले सोझै बैंक खातामा पनि पैसा पठाउन लगाउँदैनन्। ट्र्याक गर्न गाह्रो हुने अन्य माध्यम वा नगदै दिन बोलाउने जस्ता माध्यमबाट पैसा माग्छन्।
यसबाट बच्नका लागि परिवारसँग बसेर एउटा ‘सिक्रेट कोडवर्ड’ तय गरी फोनमा जतिसुकै डरलाग्दो कुरा सुने पनि नआत्तिकन कोडवर्ड सोध्नुपर्छ।
यदि कसैको दुर्घटना वा अपहरणको फोन आयो भने, फोन काटेर सोझै त्यो आफन्त वा उनका साथीहरूलाई फोन गरेर सत्यतथ्य बुझ्नु नै बुद्धिमानीपूर्ण हुन्छ भने कसैले पनि कोडवर्ड नबिर्सिउन् भनेर हरेक ३-४ महिनामा परिवारका सबै सदस्यहरूलाई त्यो कोडवर्ड सम्झाउने गर्नुपर्छ।
प्रविधिको जमानामा सचेतना नै सबैभन्दा ठूलो सुरक्षा हो। ५ मिनेट निकालेर परिवारसँग यो विषयमा छलफल गर्दा त्यसले भविष्यमा हुने ठूलो दुर्घटना र आर्थिक क्षतिबाट बचाउन सक्छ।
साउन २१, २०८३ बिहीबार १४:१४:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।