पानी तान्ने मोटर खोज्न जाँदा बाढीले बगाएर महोत्तरीमा एक किसानको मृत्यु
जनकपुरधाम : महोत्तरीको बर्दिबासस्थित गढन्ता खोलाको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाका अनुसार खोलाले बगाउँदा बर्दिबास नगरपालिका-५ निवासी ६२ वर्षीय टङ्कबहादुर बस्नेतको मृत्यु भएको हो।
खोला छेउको खेतमा पानी तान्न राखिएको विद्युतीय मोटर खोलाले बगाउन थालेपछि बुधबार साँझ मोटर निकाल्न खोलातर्फ जाने क्रममा बाढीले एक्कासी बगाउँदा बस्नेत बेपत्ता भएका थिए।
खोजी गर्ने क्रममा घटनास्थलबाट करिब तीन किलोमिटर दक्षिणतर्फ खोलामा घोप्टो परेको अवस्थामा बस्नेतको शव फेला परेको प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले बताए।
साउन २१, २०८३ बिहीबार ०९:२७:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।