भारतको झारखण्डमा प्रश्नपत्र लिक विवाद चर्कियो, विद्यार्थी नेता आमरण अनशनमा

भारतको झारखण्डमा प्रश्नपत्र लिक विवाद चर्कियो, विद्यार्थी नेता आमरण अनशनमा

एजेन्सी : भारतको झारखण्ड राज्यमा विभिन्न आयोगका नियुक्ति परीक्षाहरूमा भएको भनिएको अनियमितता र प्रश्नपत्र लिकको विरोधमा विद्यार्थी आन्दोलन चर्किएको छ। 

आन्दोलनको नेतृत्व गरिरहेका विद्यार्थी नेता देवेन्द्र नाथ महतोले आइतबारदेखि राँचीस्थित जयपाल सिंह मुन्डा स्टेडियम मा अनिश्चितकालीन अनशन सुरु गरेका छन्।

हिन्दुस्तान टाइम्सका अनुसार परीक्षार्थीहरूले १४ औँ झारखण्ड लोक सेवा आयोग प्रारम्भिक परीक्षा रद्द गर्नुपर्ने, प्रश्नपत्र लिक प्रकरणको निष्पक्ष छानबिन हुनुपर्ने र परीक्षा सञ्चालन गर्ने टिडिपीएल एजेन्सीमार्फत भएका सबै परीक्षाहरूको अनुसन्धान गरिनुपर्ने माग राखेका छन्। उनीहरूले दोषीमाथि कडा कारबाही र राज्यको समग्र परीक्षा प्रणालीमा व्यापक सुधारको मागसमेत गरेका छन्। यो आन्दोलनलाई 'ककरोच जनता पार्टी' ले पनि ऐक्यबद्धता जनाएको छ।

पत्रकारहरूसँग कुरा गर्दै विद्यार्थी नेता महतोले गत महिना १४ औँ जेपिएससी प्रारम्भिक परीक्षाको नतिजा सार्वजनिक भएपछि विवाद सुरु भएको बताए। आफूहरूले राज्यपाल र मुख्यमन्त्रीलाई भेटेर प्रमाणसहित ध्यानाकर्षण गराउँदा पनि सरकार र आयोगले विद्यार्थीका मागप्रति उदासीनता देखाएको महतोले आरोप  लगाए।

विद्यार्थीहरूको मनोबल उच्च राख्न र माग पूरा गराउन अनशन सुरु गरेको बताउँदै महतोले सरकारले माग सम्बोधन नगरेसम्म अनसन जारी रहने चेतावनी दिएका छन्।विद्यार्थीहरूले परीक्षा प्रणालीलाई पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्। सरकारका तर्फबाट भने आन्दोलनका मागबारे थप औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

साउन १८, २०८३ सोमबार ११:१७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।