इन्धन अभाव र पुराना उपकरणका कारण क्युबामा पुनः देशव्यापी ‘ब्ल्याकआउट’

इन्धन अभाव र पुराना उपकरणका कारण क्युबामा पुनः देशव्यापी ‘ब्ल्याकआउट’

एजेन्सी : क्युबाको राष्ट्रिय विद्युत् प्रणालीमा प्राविधिक समस्या आएपछि आइतबार पुनः देशव्यापी रूपमा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प भएको छ।

राज्य सञ्चालित विद्युत् कम्पनी 'युनियन इलेक्ट्रिका' (यूएनई) का अनुसार राष्ट्रिय ग्रिडमा ‘पूर्ण विच्छेद’  भएपछि राजधानी हवानासहित देशका अधिकांश भूभाग अन्धकारमय बनेका छन्।

अहिले विद्युत् ग्रिडलाई पुनः सञ्चालनमा ल्याउन तीव्र रूपमा काम भइरहेको कम्पनीले जनाएको छ। एक दिनअघि मात्र क्युबाको पश्चिमी क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको थियो।

हवानाका बासिन्दाहरूले गर्मीबाट राहत पाउन घरबाहिर बसेका बेला अचानक विद्युत् गएपछि असन्तुष्टि व्यक्त गरेका थिए।

पुराना उपकरण, इन्धन अभाव तथा अमेरिकी प्रतिबन्धका कारण क्युबाले लामो समयदेखि विद्युत् सङ्कट सामना गर्दै आएको छ । विद्युत् उत्पादन केन्द्रका लागि आवश्यक इन्धन आपूर्तिमा कठिनाइ हुँदा नियमित विद्युत् कटौती हुँदै आएको अधिकारीले बताएका छन्।

यो क्युबाको विद्युत् प्रणालीमा भएको पछिल्लो ठूलो अवरोध हो।

विद्युत् कटौतीका कारण दैनिक जनजीवन प्रभावित भएको छ। विद्युत् अवरुद्ध हुँदा खानेपानी आपूर्ति, सञ्चार तथा घरायसी उपकरण सञ्चालनमा समेत समस्या हुने गरेको छ।

ऊर्जा सङ्कटका कारण जनअसन्तुष्टि बढ्दै गएको छ। प्रभावित क्षेत्रका केही बासिन्दाले फोहोर थुप्रोमा आगो बालेर तथा भाँडाकुँडा बजाएर विरोध जनाएका छन्। क्युबाको ऊर्जा मन्त्रालयले विद्युत् ग्रिड पुनःसञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ।

क्युबाले लामो समयदेखि इन्धन आपूर्ति सङ्कट झेलिरहेको छ। गत मार्चमा अमेरिकाले एक लाख टन कच्चा तेल बोकेको रुसी ट्याङ्करलाई क्युबा पुग्न अनुमति दिएको थियो। तर उक्त भण्डारसमेत सकिएको जनाइएको छ।

अमेरिकी प्रतिबन्धका कारण क्युबाली राज्य स्वामित्वका कम्पनीहरू प्रभावित भएका छन् भने केही विदेशी कम्पनीले पनि आफ्नो गतिविधि स्थगित गरेका छन्।

यसैबीच, हवाना र वासिङ्टनबीचको सम्बन्धमा पछिल्लो समय उल्लेखनीय सुधार हुन सकेको छैन। क्युबाले आर्थिक सङ्कट समाधानका लागि केही बजारमुखी सुधारका उपायहरू अघि बढाउँदै आएको छ।

साउन १८, २०८३ सोमबार १२:३६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।