महिनौं आन्दोलन चलेको महिला रेस्लर यौन दुर्व्यवहार प्रकरणमा बीजेपी नेता बृजभूषण सिंहले पाए सफाइ

महिनौं आन्दोलन चलेको महिला रेस्लर यौन दुर्व्यवहार प्रकरणमा बीजेपी नेता बृजभूषण सिंहले पाए सफाइ

एजेन्सी : भारतीय जनता पार्टी (बीजेपी)का नेता तथा भारतीय कुस्ती महासङ्घका पूर्वअध्यक्ष बृजभूषण शरण सिंहलाई दिल्लीको एक अदालतले महिला पहलवान (रेस्लर) हरूको यौन उत्पीडनको मुद्दामा सफाइ दिएको छ।

६ जना महिला पहलवानले लगाएको यौन दुर्व्यवहारको आरोपमाथि सुनुवाइ गर्दै दिल्लीको राउज एभिन्यु अदालतले सिंह र महासङ्घका पूर्वसचिव विनोद तोमरलाई निर्दोष ठहर गरेको हो।

अदालतको फैसलापछि प्रतिक्रिया दिँदै बृजभूषणले भने, ‘अदालतले म र विनोद तोमर दुवैलाई स-सम्मान सफाइ दिएको छ। मैले पहिलो दिन नै भनेको थिएँ- यदि मविरुद्ध कुनै आरोप प्रमाणित भयो भने म आफैँ फाँसीमा झुन्डिनेछु।’

उनले आफूलाई न्याय मिल्नेमा पूर्ण विश्वास रहेको र आफूले कहिल्यै अपराधी महसुस नगरेको बताए। प्रदर्शनमा उत्रिएका खेलाडीहरूबारे सोधिएको प्रश्नमा उनले प्रियंका गान्धी र आम आदमी पार्टीले आन्दोलनलाई उक्साएको र राजनीति गरेको आरोप लगाए।

सन् २०२३ को अप्रिलमा ६ जना महिला पहलवानले सिंह र तोमरविरुद्ध प्रहरीमा उजुरी (एफआईआर) दर्ता गराएका थिए। गत मे महिनामा अदालतले ५ जना महिलाको उजुरीका आधारमा सिंहविरुद्ध यौन दुर्व्यवहार सम्बन्धी आरोप तय गरेको थियो।

एक जना महिलाको उजुरी भने अदालतले खारेज गरेको थियो। यस प्रकरणमा सिंहलाई प्रहरीले पक्राउ गरेको थिएन र उनी अगस्ट २०२३ देखि नै धरौटीमा बाहिर थिए।

सडकमा उत्रिएका थिए खेलाडी
यो प्रकरण सन् २०२३ को जनवरीमा त्यतिबेला सतहमा आएको थियो, जतिबेला ओलम्पिक पदक विजेता विनेश फोगाट, साक्षी मलिक र बजरंग पुनिया जस्ता चर्चित खेलाडीहरूले दिल्लीको जन्तरमन्तरमा महिनौंसम्म विरोध प्रदर्शन गरेका थिए।

सुरुमा दिल्ली प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि महिला खेलाडीहरू सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतको आदेशपछि मात्र प्रहरीले बृजभूषणविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता गरेको थियो।

साउन १८, २०८३ सोमबार १२:२८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।