'सम्झौता नजिक पुगेको' दाबी गर्दै ट्रम्पद्वारा इरानमाथिको आक्रमण स्थगित गरेको घोषणा
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग 'छिट्टै सम्झौता' हुने अवस्था बनेपछि इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण स्थगित गरेको घोषणा गरेका छन्।
आफ्नो सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत उनले 'तत्काल सम्झौता गर्न सकिने सर्तमा' उक्त आक्रमण रद्द गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
ट्रम्पले लेखेका छन्, "संयुक्त राज्य अमेरिकासँग दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठुलो सैन्य शक्ति छ र इरानविरुद्ध कारबाही गर्न सक्षम छ। यद्यपि इरान र मध्यपूर्वका अन्य केही देशले आक्रमण रोक्न अनुरोध गरेका छन्, किनभने सम्झौताको ढाँचालाई अन्तिम रूप दिइएको छ।"
उनको दाबीअनुसार प्रस्तावित सम्झौतामा स्ट्रेट अफ होर्मुजको तत्काल पूर्ण रुपमा खुला गर्ने र इरानको आणविक कार्यक्रमबाट उत्पन्न सुरक्षा जोखिम अन्त्य गर्ने कुरा पनि समावेश हुनेछ। ट्रम्पले सम्झौताका आधारभूत रूपरेखामा सहमति भएको दाबी गरे पनि त्यसबारे थप विवरण सार्वजनिक गरेका छैनन्।
ट्रम्पले आक्रमण रद्द गर्ने निर्णय इजरायलको सहमतिमा लिइएको बताएका छन्। तर, उनको दाबीबारे इरानले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले अमेरिका र इजरायलले यसै साताको अन्त्यतिर इरानका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै हालसम्मकै कडा हवाई आक्रमणको तयारी गरेको दाबी गरेका थिए। उक्त विषय शुक्रबार बसेको ट्रम्पको मन्त्रिपरिषद् बैठकमा पनि छलफल भएको जनाइएको थियो।
सोही बैठकमा ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानलाई 'धेरै कडा प्रहार' गर्ने चेतावनी दिएका थिए।
अक्सियोस र रोयटर्सका अनुसार तनाव बढ्दै जाँदा साउदी अरबका युवराज मोहम्मद बिन सलमानले शनिबार ट्रम्पसँग टेलिफोन वार्ता गर्दै सम्भावित सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गरेका थिए।
अर्कोतर्फ, इरानले परिस्थितिलाई थप उत्तेजित नबनाउन चेतावनी दिँदै अमेरिकासँग सहकार्य गर्ने कुनै पनि क्षेत्रीय मुलुक 'युद्धको ज्वालामा पर्ने' चेतावनी दिएको थियो।
त्यससँगै अमेरिकाले पनि मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई सम्भावित तनाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन र आवश्यक परे तत्काल त्यहाँबाट बाहिरिन तयारी अवस्थामा रहन आग्रह गरेको छ। सम्भावित सुरक्षा जोखिमका कारण उडान रद्द हुन सक्ने, हवाई क्षेत्र बन्द हुन सक्ने तथा यात्रामा अवरोध आउन सक्ने भन्दै शनिबार सुरक्षा सतर्कता जारी गरिएको थियो।
अमेरिका र इरानबीच गत अप्रिलमा भएको युद्धविराम जुन महिनामा भङ्ग भएपछि दुवै पक्षबीच लगातार सैन्य तनाव बढ्दै गएको छ।
अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी र इरानी साइटहरूमा बमबारी गरेको छ भने, इरानले मध्यपूर्वका अमेरिकी सम्पत्तिहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गर्नुका साथै विश्वव्यापी तेल ढुवानीको प्रमुख मार्ग स्ट्रेट अफ होर्मुजमा जलपोतहरूलाई लक्षित गर्दै आएको छ।
गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेपछि मध्यपूर्वमा तनाव बढेको छ भने विश्व बजारमा कच्चा तेलको मूल्यमा समेत उतारचढाव आएको छ।
साउन १७, २०८३ आइतबार ११:२६:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।