नेपालीले अमेरिकाको बी-१ र बी-२ भिसा पाउन अब ३० लाखसम्म धरौटी राख्नुपर्ने
काठमाडौं : अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक तथा व्यापारिक भिसामा १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ।
भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्ने प्रवृत्तिलाई निरुत्साहित गर्न अमेरिकी विदेश मन्त्रालयले यसअघि परीक्षणका रूपमा रहेको यस प्रावधानलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको हो।
यससँगै अब नेपाली आवेदकले बी-१ (व्यापारिक) र बी-२ (पर्यटक) भिसा प्राप्त गर्नुअघि करिब १५ देखि ३० लाख नेपाली रुपैयाँ बराबरको धरौटी रकम अनिवार्य जम्मा गर्नुपर्नेछ। यसअघि परीक्षण कालमा यस्तो धरौटी रकम ५ हजारदेखि १५ हजार डलरसम्म तोकिएकोमा अहिले त्यसलाई वृद्धि गरिएको छ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार यदि भिसा अस्वीकृत भएमा वा भिसाको सर्त बमोजिम समयमै स्वदेश फर्किएमा उक्त धरौटी रकम पूर्ण रूपमा फिर्ता हुनेछ। दक्षिण एसियाबाट नेपालसँगै बंगलादेश र भुटानसहित ५० देशका नागरिकमा यो नियम लागू हुनेछ।
साउन १७, २०८३ आइतबार ०८:०७:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।