रास्वपा सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल : आफ्नो निर्वाचन क्षेत्रमा पुगेर सद्भावको पुल बन्न निर्देशन

रास्वपा सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल : आफ्नो निर्वाचन क्षेत्रमा पुगेर सद्भावको पुल बन्न निर्देशन

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तराई-मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूसँग शुक्रबार भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे।

प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उल्लेख गरे। शान्ति-सुरक्षालाई चुस्त-दुरुस्त राख्न र परिस्थितिलाई थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सीमा नाकामा आवतजावतलाई व्यवस्थित बनाइएको बताए।

प्रधानमन्त्री शाहले सबै सांसदहरूलाई आ-आफ्ना निर्वाचन क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न निर्देशन दिए गरे। प्रधानमन्त्री शाहले अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर उनीहरूको दुःखसुखमा उभिनु नै सांसदहरूको वास्तविक दायित्व भएको स्मरण गराए।

सांसदहरूले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकारात्मक रूपमा लिँदै आफूहरू तत्कालै आ-आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाए। उनीहरूले प्रधानमन्त्री शाहले बिहीबार राष्ट्रका नाममा गरेको सम्बोधनले देशैभर र विशेष गरी प्रभावित क्षेत्रका नागरिकमा सकारात्मक सन्देश, विश्वास र भरोसा जगाएको समेत उल्लेख गरे।

स्थानीयस्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्नका लागि दुवै पक्षका नेतृत्व, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिहरूसँग सघन संवादको शृङ्खलालाई निरन्तरता दिनुपर्ने सुझावसमेत सांसदहरूले दिएका थिए।

साथै, तनावग्रस्त तथा आसपासका क्षेत्रहरूमा धार्मिक तथा सामाजिक सौहार्दता कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने तथा सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउन स्थानीयस्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने आवश्यकतामा सांसदहरूले जोड दिए। 

साउन १५, २०८३ शुक्रबार १९:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।