पूर्वी तराईको अशान्तिप्रति नाडाको गम्भीर ध्यानाकर्षण, सामाजिक सद्भाव कायम राख्न अपिल
काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सुनसरीको कप्तानगञ्जसहित पूर्वी तराईका केही जिल्लाहरूमा पछिल्लो समय देखिएको अशान्ति र हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संस्थाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी विज्ञप्तिमा हिंसात्मक गतिविधि र तोडफोडले शान्ति सुरक्षाका साथै उद्योग-व्यवसाय, लगानी र समग्र राष्ट्रिय अर्थतन्त्रमै प्रतिकूल असर पर्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरिएको छ।
कुनै पनि असहमति र मागहरूलाई शान्तिपूर्ण र लोकतान्त्रिक माध्यम (संवाद) मार्फत समाधान गर्न नाडाले सम्बन्धित पक्षलाई आग्रह गरेको छ।
यस्ता घटनाले आम नागरिकको दैनिक जीवन र व्यावसायिक वातावरण बिग्रिने हुँदा संयमता अपनाउन सम्पूर्ण नागरिकलाई अपिल गरिएको छ।
साथै, नाडाले शान्ति सुरक्षा कायम गरी नागरिकको जनधनको संरक्षण गर्न र जनजीवन तथा व्यावसायिक वातावरण यथाशीघ्र सहज बनाउन सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।
साउन १५, २०८३ शुक्रबार ११:२२:४३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।