आईसीयूमा भर्ना नलिएको भन्दै दुई महिलाद्वारा भक्तपुर अस्पतालमा तोडफोड, स्वास्थ्यकर्मीमाथि कैँची प्रहार

आईसीयूमा भर्ना नलिएको भन्दै दुई महिलाद्वारा भक्तपुर अस्पतालमा तोडफोड, स्वास्थ्यकर्मीमाथि कैँची प्रहार

काठमाडौं : भक्तपुरस्थित भक्तपुर अस्पतालमा आईसीयू शय्या खाली हुँदाहुँदै बिरामीलाई भर्ना नलिएको भन्दै बिरामीका आफन्तले अस्पतालमा तोडफोड गरेका छन्।

काभ्रेको तिमाल गाउँपालिका-७ घर भई हाल सूर्यविनायक बस्ने दमका ८२ वर्षीय बिरामीलाई बुधबार मध्यराति १२ बजेतिर अस्पताल पुर्याइएको थियो।

ती बिरामी बुधबार बिहान मात्रै सोही अस्पतालको आईसीयूमा उपचार गराएर डिस्चार्ज भएका थिए। तर, राति स्वास्थ्यमा थप समस्या आएपछि उनलाई पुनः अस्पताल लगिएको थियो।

बिरामीलाई आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै आफन्तले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई धम्क्याएको अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवनचन्द्र झाले जानकारी दिए।

डा. झाले भने, ‘राति होहल्ला भएको थियो। एक जनाले जबरजस्ती रूपमा नै आईसीयूमा भर्ना गरिदिनुपर्यो भनेर डाक्टरसापहरूलाई धम्काउने र तर्साउने गरेका रहेछन्।’

शय्या खाली, तर जनशक्ति अभाव
अस्पतालमा १५ शय्याको आईसीयू भए पनि नर्सको अभावका कारण बुधबारदेखि ७/८ वटा शय्या मात्र सञ्चालनमा रहेको अस्पतालले जनाएको छ। निमित्त निर्देशक डा. झाका अनुसार छात्रवृत्ति करारका १५ जना नर्सको म्याद सकिएकाले आईसीयू पूर्ण क्षमतामा चलाउन नसकिएको हो।

‘१५ शय्याको आईसीयू भए पनि छात्रवृत्ति करारका नर्सहरू गइसक्नुभएको छ। १५ जना नर्सको करार सकिएर एक्कासी जनशक्ति अभाव भएकाले ७/८ वटा मात्रै आईसीयू चलाउने भनेर हामीले सूचना नै जारी गरिसकेका थियौँ’, डा. झाले भने।

बुधबार बिहानसम्म ती बिरामी आईसीयूमा नै रहेकाले शय्या खाली छ भन्ने थाहा पाएर आफन्तले भर्नाका लागि दबाब दिएको उनको भनाइ छ। साथै, उक्त आईसीयू ‘लेभल थ्री’ को रहेको र बिरामीलाई राख्न उपयुक्त नभएकाले भर्ना लिन नसकिएको उनले दाबी गरे।

तोडफोडमा दुई महिला सक्रिय, स्वास्थ्यकर्मीलाई कैँची प्रहार
आईसीयू खाली नभएको जानकारी गराएपछि बिरामी पक्ष र अस्पतालका कर्मचारीबीच चर्काचर्की भएको थियो। त्यसपछि बिरामीका आफन्तले टेबल ठटाउने, स्वास्थ्यकर्मीलाई धम्क्याउने तथा आईसीयू र आकस्मिक कक्षमा गएर सिसा र औषधिका बट्टा तोडफोड गरेका थिए।

डा. झाका अनुसार बिरामीका एक आफन्तले ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई कैँचीजस्तो देखिने सानो मेडिकल उपकरण (फोर्सेप) ले प्रहार गर्दा ती स्वास्थ्यकर्मीको हातमा सामान्य चोटसमेत लागेको छ।

‘रातभर कहिले आईसीयू जाने, कहिले इमर्जेन्सी आउने, कहिले यता तर्साउने, कहिले उता तर्साउने र धम्काउने काम भयो,’ डा. झाले भने, ‘राति १२ बजे आएको केसमा बिहान ६ बजेसम्म लगातार ६ घण्टा तर्साइयो।’

सुरुमा ५/६ जनाको सङ्ख्यामा रहेका बिरामी पक्ष बिहानसम्म १५/२० जना जम्मा भएका थिए। सीसीटीभी फुटेजमा २५/३० वर्षका दुई जना महिला तोडफोडमा सक्रिय देखिएको र उनीहरूको पछाडि पुरुषहरू पनि रहेको अस्पतालले जनाएको छ।

राति नै प्रहरी टोली अस्पताल पुगे पनि टोलीमा महिला प्रहरी नभएकाले तोडफोडमा उत्रिएका महिलाहरूलाई तत्काल नियन्त्रणमा लिन नसकिएको डा. झाले बताए।

बिहान मात्रै अन्यत्र रिफर
तनावकै बीच बिरामीलाई बिहानसम्म आकस्मिक कक्ष र माइनर शल्यक्रिया कक्षमा राखेर उपचार गरिएको थियो।

रातभर प्रमुख जिल्ला अधिकारी (सीडीओ), प्रहरी उपरीक्षक (एसपी) र अस्पताल विकास समितिका अध्यक्षसँग समन्वय गरेर बिहान ६ बजेतिर बिरामीलाई सम्झाइबुझाइ गरी भक्तपुरकै नेपाल कोरिया मैत्री अस्पतालमा ‘रिफर’ गरिएको थियो।

‘यहाँ तपाईंको बेटर उपचार हुँदैन, योभन्दा राम्रो अस्पताल जानुस् भनेर काउन्सिलिङ गरी पठाएका हौँ’, डा. झाले भने।

तोडफोड गर्नेहरूलाई कारबाहीको माग गर्दै अस्पतालले बिहीबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको छ। प्रशासनले भिडियो हेरेर कारबाही अगाडि बढाउने आश्वासन दिएको र प्रहरीले उनीहरूलाई पक्राउ गर्ने तयारी गरेको अस्पतालले जनाएको छ।

अस्पतालमा कार्डियोलोजिस्ट, न्युरो सर्जनजस्ता विशिष्टीकृत तहका चिकित्सक नभएकाले गम्भीर प्रकृतिका बिरामीलाई अन्यत्रै रिफर गर्नुपर्ने बाध्यता छ।

तर, यस्ता विशेषज्ञ चिकित्सक नै नभएको अस्पतालले करिब १२ करोड रुपैयाँमा रोबटिक मेसिन खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो। उक्त खरिद प्रक्रियामा भएको बदमासीबारे उकेराले समाचार सम्प्रेषण गरेपछि गत असारमा त्यसको टेन्डर रद्द भएको थियो।

साउन १५, २०८३ शुक्रबार १०:०२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।