हिंसाको पाँचौँ दिन 'होस'मा फर्किए प्रधानमन्त्री वालेन्द्र, सुरक्षा समीक्षादेखि राष्ट्रपतिसम्म भेटे

हिंसाको पाँचौँ दिन 'होस'मा फर्किए प्रधानमन्त्री वालेन्द्र, सुरक्षा समीक्षादेखि राष्ट्रपतिसम्म भेटे

काठमाडौँ : सुनसरीमा दुई धार्मिक समूदायबीचको विवाद हिंसात्मक घटनामा बदलिएसँगै प्रधानमन्त्रीको रूपमा प्रत्यक्ष सम्बोधन, सुरक्षा संयन्त्रको बैठक, राजनीतिक दलहरूसँग सिधा संवाद जस्ता जिम्मेवारीमा कमजोर देखिएका वालेन्द्र शाह घटनाको पाँचौँ दिन निकै सक्रिय भए।

उनले बिहीबार पहिला आफ्नो अध्यक्षमा रहेको राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेर सुरक्षाको अवस्थाबारे जानकारी लिए। उनका अनुसार परिषद्को बैठकले सुरक्षाको समीक्षासहित आवश्यक निर्णय गरेको छ।

त्यसपछि साँझ उनले देशवासीको नाममा सम्बोधन गर्ने सूचना उनको सचिवालयबाट सार्वजनिक भयो। साढे ६ बजे हुने भनिएको सम्बोधन साढे आठ बजेतिर भयो।

उनले शान्ती स्थापना र आम नागरिकको जिउधनको सुरक्षाप्रति सरकारको प्रतिबद्धता दोहोर्याए। अनि हिंसात्मक घटना रोक्न र सामाजिक सद्भाव कायम गर्न अपिल गरे।

राष्ट्रपती रामचन्द्र पौडेलसँग पहिलो पटक शिष्टाचार भेट गर्दै प्रधानमन्त्री वालेन्द्र शाह। तस्बिर : राष्ट्रपती कार्यालय।लगत्तै प्रधानमन्त्री वालेन्द्र राष्ट्रपति रामचन्द्र पौडेल भेट्न राष्ट्रपतिको कार्यालयमा गए। उनी प्रधानमन्त्री भएपछि राष्ट्रपतिसँग भएको यो नै पहिलो शिष्टाचार भेट थियो। यस अगाडि संविधान अनुसारको अनिवार्य कामकाक्रममा दुवैको देखभेट भए पनि शिष्टाचार भेट भएको थिएन।

राष्ट्रपति कार्यालयको सचिवालयका अनुसार भेटमा प्रधानमन्त्री वालेन्द्रले मुलुकका विभिन्न भागमा भएको विषम घटना र परिस्थितिका बारेमा जानकारी दिएका थिए। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले शान्ति सुव्यवस्था कायम गर्न सरकारबाट भइरहेको प्रयासबारे जानकारी गराएका थिए। 

भेटमा राष्ट्रपति पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा लिएर संयमपूर्वक स्थितिलाई साम्य पार्न एवं सद्भाव कायम गर्न सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनी यतिमै रोकिएनन्। उनले बिहीबारै संवैधानिक दायित्व अनुसारै उपराष्ट्रपतिलाई समेत फोन गरेर अहिलेको अवस्थाबारे जानकारी गराए।

उनले बिहीबारको सम्बोधनमा सर्वदलीय बैठक गरेको दाबी त गरे। तर अहिलेसम्म यस विषयमा सर्वदलीय बैठकमार्फत सबै राजनीतिक दलका प्रमुख नेताहरूलाई अवस्था र सरकारले गरेको प्रयासबारे जानकारी गराएका छैनन्।

विहिबारै घाइते र मृतक परिवार भेट्न गृहमन्त्री सुधन गुरूङलाई सुनसरी पठाए।

रविको छायाँ प्रधानमन्त्री स्वरूप

प्रधानमन्त्री शाहको बिहीबार जस्तो सक्रियता देखियो त्यो सुनसरीको घटना गम्भीर बन्दै गए लगत्तै देखिनु पर्ने हो। तर उनी फेसबुकमा पोस्ट गरेर मौन बसे। सुरक्षा परिषद्को बैठक, सर्वदलीय बैठक र संयुक्त अपिल, देशवासीको नाममा सम्बोधन उनकै दायित्व थियो। तर उनी यी सबै प्रक्रियामा उनी निष्क्रिय देखिए।

प्रधानमन्त्री निष्क्रिय भएपछि सत्ताधारी दलका सभापति रवि लामिछाने सक्रिय भए। उनले सर्वदलीय बैठक राखेर संयुक्त अपिल निकाल्न सहमत गराए र निस्कियो पनि। उनले सभापतिको रूपमा शान्ती र सद्भावको अपिल गरे। तर त्यो प्रधानमन्त्रीको देशवासीको शैलीमा थिएन। सुरक्षा परिषद्को बैठक राख्ने संवैधानिक अधिकार पार्टी सभापतिमा हुन्न।राष्ट्रिय सुरक्षा परिषद्को बैठक।

संवैधानिक दायित्व अनुसार देशको कुनै भागमा शान्ती सुरक्षाको चुनौती बढेको अवस्थामा त्यसबारे राष्ट्रपतिलाई जानकारी दिने दायित्व प्रधानमन्त्रीको हो। तर उनले वास्ता गरेनन्। पार्टी सभापति रविले सभापतिको रूपमा त्यो दायित्व पुरा गर्दै बुधवार राष्ट्रपतीसँग भेट गरेका थिए। 

पार्टी सभापतिले समानान्तर रूपमा प्रधानमन्त्रीले गर्नुपर्ने काम गरिरहेका थिए। प्रधानमन्त्री वालेन्द्र भने संवैधानिक दायित्वमै निष्क्रिय देखिए। जब बिहीबार हिंसा मधेसका जिल्लामा फैलन थाल्यो बल्ल वालेन्द्र प्रधानमन्त्रीको स्वरूपमा सक्रिय भए।

पाँच दिनपछि सम्झिएको दायित्व

तर वालेन्द्र प्रधानमन्त्रीको रूपमा सक्रियहुँदा स्थिति थप बिग्रिसकेको थियो। आइतबार सुनसरीमा सुरु भएको हिंसात्मक घटना बिहीबार आइपुग्दा छिमेकी प्रदेशका जिल्लाहरूमा फैलिएर उग्र बनिरहेको थियो। 

सोमबारै सुनसरीका एक घाइतेको मृत्यु भएको थियो। बिहीबार अर्का घाइतेको मृत्यु भयो नै उता सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर १५ वर्षीय किशोरको ज्यान गयो।

स्थिति साम्य हुनुको साटो त्यो सुनसरीबाट फैलिएर मधेस प्रदेशको सिरहा र धनुषासम्म पुग्यो। पर्सामा समेत जोखिम देखेर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्नुपर्यो। स्थानीय प्रशासनले सडकमा सेना परिचालन गर्यो।

प्रधानमन्त्रीका रूपमा वालेन्द्रले मध्यरात साढे ११ बजे फेसबुकमा भावुक सन्देश लेखेका थिए। तर मधेसमा त्यसको सकारात्मक सन्देश देखिएन। हिंसात्मक घटना रोकिनुको साटो थप बढ्यो। बिहीबार उनले चयन गरेका शब्द र शैली प्रधानमन्त्रीको ओहदा अनुकूल देखिए पनि यसको सकारात्मक प्रभाव मधेसमा पर्ला !, सामाजिक सद्भाव बिथोल्ने गतिविधि थामिएलान्?

साउन १४, २०८३ बिहीबार २३:०१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।