भिडियो सम्बोधनबाट प्रधानमन्त्री वालेन्द्रको पाँच सन्देश : छानबिन निष्पक्ष, अराजक गतिविधि गरे कडा कदम
काठमाडौँ : सुनसरी र मधेसका विभिन्न जिल्लाहरूमा पछिल्ला दिनहरूमा भएका हिंसात्मक घटना र अशान्त वातावरणलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले देशवासीका नाममा सम्बोधन गर्दै सामाजिक सद्भाव कायम राख्न अपिल गरे। सुनसरीमा हिंसात्मक घटना भएको पाँचौँ दिनमा आएर बल्ल उनले राष्ट्रको नाममा सम्बोधन गरेका हुन्। मंगलबार मध्यरात उनले आफ्नो फेसबुक पेजमा अपिल राखेका थिए।
तर त्यसको प्रभाव मधेसमा देखिएन। बिहीबार मधेसका विभिन्न जिल्लामा हिंसात्मक घटनासँगै एक जना किशोरको मृत्यु भएपछि बल्ल उनले राष्ट्रको नाममा सम्बोधन गरे। उनले सम्बोधनमा परिस्थिति थप बिग्रन नदिन र सामाजिक सद्भाव जोगाउन आग्रह गर्दै सरकार शान्ति-सुरक्षा कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्रीको सम्बोधनका प्रमुख पाँच विषय :
१. निष्पक्ष छानबिनको प्रतिबद्धता
सुनसरीको देवानगन्ज र सिरहा लगायतका स्थानमा भएका दुःखद घटनामा परी ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति प्रधानमन्त्रीले श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना दिए।
घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको र दोषी जो-कोही भए पनि कानुनी दायरामा ल्याइने उनले बताए।
२. घाइतेको नि:शुल्क उपचार र उच्चस्तरीय अनुगमन
घटनामा परी घाइते भएका सबै नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रधानमन्त्रीले उनीहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन स्वास्थ्य निकायहरूलाई कडा निर्देशन दिएको जानकारी दिए।
स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन, पीडित पक्षसँग संवाद र शान्ति-सुरक्षा सुदृढ बनाउन गृहमन्त्री स्वयं सुरक्षा निकायका उच्च अधिकारीहरूसहित घटनास्थलतर्फ गएको उनले बताए।
३. अफवाह र भ्रामक सूचना नफैलाउन आग्रह
उनले अहिलेको अवस्था संवेदनशील रहेको भन्दै सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह र घृणा फैलाउने सामग्री प्रचारप्रसार नगर्न विशेष अनुरोध गरे।
४. प्रतिशोधको आगो नफैलाउन र सामाजिक सद्भाव जोगाउन अपिल
कुनै एक स्थानमा भएको दुःखद घटनालाई लिएर सिङ्गो समुदायलाई आरोपित गर्ने र अन्य भूभागमा प्रतिशोधको आगो फैलाउने कार्य न्यायोचित नहुने प्रधानमन्त्रीको भनाइ छ। कुनै पनि धर्म वा संस्कृतिले हिंसा र विभाजन नसिकाउने उल्लेख गर्दै उनले सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने जुनसुकै अराजक क्रियाकलापमाथि सरकारले कडा कदम चाल्ने चेतावनी दिए।
५. सबै पक्षलाई धैर्यता र संयमता अपनाउन आह्वान
नेपालीको मुख्य शक्ति नै कठिन समयको आपसी एकता र विवेक भएको स्मरण गराउँदै प्रधानमन्त्री शाहले अशान्तिको वातावरण अन्त्य गर्न सबैको सहयोग मागे। उनले आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, राजनीतिक दल र सञ्चारमाध्यमहरूलाई धैर्यता र संयमता अपनाउँदै शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न हार्दिक अपिल गरे।
साउन १४, २०८३ बिहीबार २१:३५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।