मधेसमा फैलँदो हिंसा रोक्न प्रधानमन्त्री वालेन्द्रले भने “संवेदनशील घडी हो, संयमित बनौँ”

मधेसमा फैलँदो हिंसा रोक्न प्रधानमन्त्री वालेन्द्रले भने “संवेदनशील घडी हो, संयमित बनौँ”

काठमाडौं : सुनसरीको स्थानीय विवादबाट उत्पन्न हिंसात्मक घटना मधेसका जिल्लासम्म पुगेपछि प्रधानमन्त्री वालेन्द्र शर्माले देशवासीको नाममा सम्बोधन गर्दै अहिलेको अवस्था संवेदनशील रहेको भन्दै जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न आग्रह गरे।

नेपाली र मैथिली भाषामा गरेको सम्बोधनमा उनले सुनसरी र केही जिल्लामा अशान्तिपूर्ण वातावरण रहेको भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। उनले घाइतेको उपचारका लागि आवश्यक निर्देशन दिइसकेको बताए।

घटना भए लगत्तै अवस्था सामान्य बनाउन र थप बिग्रन नदिने सुरक्षाकर्मीहरूले काम गरिरहेको बताए। उनले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको र छानबिन निष्पक्ष र पारदर्शी हुने बताए। 

“घटनामा जो भए संलग्न भए पनि कडा कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। कुनै पनि नागरिकको जनधनको क्षति हुन नदिन सरकार क्रियाशील छ” उनले सम्बोधनमा भने।

उनले केन्द्रियस्तरमा सर्वदलीय बैठक राखेको, स्थानीय तहमा नागरिक समाज र धार्मिक गुरुहरूसँग निरन्तर संवाद भइरहेको दाबी गरे। तर सरकारले अहिलेसम्म सर्वदलीय बैठक राखेको छैन। बुधवार राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वदलीय बैठक राखेको हो।

सम्बोधनमा प्रधानमन्त्री वालेन्द्रले सहजीकरणको लागि गृहमन्त्री (सुनसरी) भन्दै राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर आवश्यक निर्णय गरेको बताए। उनले सामाजिक सद्भाव बिथोल्ने गतिविधि रोक्न सरकारले कडा कदम चाल्ने चेतावनी दिएका थिए। उनले सामाजिक सञ्जालमा अपुष्ट र घृणा फैलाउने सामग्री नफैलाउन समेत आग्रह गरे।

उनले देशको एक भूभागमा भएको अनपेक्षित घटनालाई लिएर आक्रोशको आगो फैलाउने काम रोक्न समेत आग्रह गरे। 

साउन १४, २०८३ बिहीबार २१:०१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।