मधेस प्रदेश मन्त्रिपरिषद् बैठकमा सुरक्षा समीक्षा, सामाजिक सद्भाव कायम गर्न अपिल

मधेस प्रदेश मन्त्रिपरिषद् बैठकमा सुरक्षा समीक्षा, सामाजिक सद्भाव कायम गर्न अपिल

जनकपुरधाम : आइतबार मध्यरात कोशी प्रदेशको सुनसरीबाट सुरु भएको तनावका कारण मधेस प्रदेशका जिल्लाहरू समेत प्रभावित भएपछि मधेश प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक बस्यो। बिहीबार मधेस प्रदेशको सिरहा, धनुषा र पर्सामा कर्फ्यु र निषेधाज्ञा जारी भएको छ। सिरहामा एक जना किशोरको ज्यान गएको छ।

तनाव थप बढ्ने जोखिम देखेपछि बसेको मन्त्रिपरिषद् बैठकले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानुनको प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राख्ने निर्णय गर्यो। मन्त्रिपरिषद् बैठकपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले जारी गरेको प्रेस विज्ञप्तिमा बैठकमा पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा भएका सामाजिक, आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको गम्भीर समीक्षा गरिएको उल्लेख छ।

प्रदेश सरकारले सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर सम्भावित सुरक्षा चुनौतीको समयमै पहिचान, रोकथाम तथा प्रभावकारी व्यवस्थापन गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा शान्ति, सामाजिक सद्भाव, धार्मिक तथा सांस्कृतिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, सङ्घ-संस्था, धार्मिक गुरु, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, नागरिक समाज, सञ्चारमाध्यम, निजी क्षेत्र तथा आम नागरिकलाई आग्रह गरेको छ।

विज्ञप्तिमा पछिल्ला घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूको उपचारमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ। प्रदेश सरकार शान्ति–सुरक्षा, सुशासन, कानुनी शासन तथा नागरिकको संवैधानिक एवं कानुनी अधिकारको संरक्षणप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

साउन १४, २०८३ बिहीबार १९:१७:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।