मधेशको सुरक्षा संवेदनशीलतामा सिंहदरबारको ध्यान पुगेन : मनिष झा

मधेशको सुरक्षा संवेदनशीलतामा सिंहदरबारको ध्यान पुगेन : मनिष झा

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले मधेश प्रदेशको पछिल्लो सुरक्षा संवेदनशीलतालाई संघीय सरकारले पर्याप्त रूपमा सम्बोधन गर्न नसकेको बताएका छन्।

बिहीबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै झाले मधेशमा विकसित भइरहेको परिस्थिति र राज्यको भूमिकाबारे यस्तो टिप्पणी गरेका हुन्। राज्य संयन्त्रले काम गरिरहेको भए पनि त्यसको प्रभावकारितामा भने उनले प्रश्न उठाए। 

"राज्यको उपस्थिति छ, राज्यको एउटा संयन्त्रले काम गरिराखेको छ। काम कति प्रभावकारी भइराखेको छ ? पर्याप्त भएको छ कि छैन भन्ने हामीले मूल्याङ्कन गर्नुपर्ने हुन्छ," झाले भने। सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्जमा सुरु भएको स्थानीय विवाद मधेस प्रदेशका जिल्लामा सर्दासमेत राज्यको सक्रियता र तदारुकतामा कमजोरी देखिएको उनको भनाइ छ। 

"जुन परिस्थितिहरू विकसित हुँदै छ, त्यसले राम्रो सङ्केत चाहिँ दिइराखेको छैन। त्यो पनि एउटा अब छानबिन भइराखेको छ। त्यसको निष्कर्षमा तपाईं पुग्न मिल्दैन किनकि अनुसन्धान भइनै राखेको छ। अनुसन्धानको रिपोर्ट आउनु नै छ," झाले भने, "एउटा कुरामा मेरो आंशिक सहमति के छ भने राज्यको सक्रियता, तदारुकता जति हुनुपर्थ्यो, त्यो नभएको हो।"

कप्तानगञ्ज घटनाका मृतकको शव बुझ्ने, दाहसंस्कार गर्ने र पीडित परिवारले पाउनुपर्ने राहत एवं क्षतिपूर्तिका सवालमा राज्यको उपस्थिति फितलो देखिएको उनको भनाइ थियो। उक्त घटनाको अनुसन्धान भइरहेकाले अहिल्यै निष्कर्षमा पुग्न नमिल्ने बताउँदै झाले सुरक्षा संवेदनशीलताको सवालमा संघीय सरकार र सिंहदरबारले पुऱ्याउनुपर्ने ध्यान अपर्याप्त रहेको औँल्याए। 

"हामी मधेस प्रदेशका लगभग २० जना जति सांसदहरू पार्टी सभापति आदरणीय रवि दाइसँग बसेर हामी छलफल गरेर मात्र निस्किएको हौं," उनले भने, "मधेसलाई अहिलेको सुरक्षा संवेदनशीलता छ, सुरक्षा संवेदनशीलताको अवस्थामा मधेसलाई जसरी हेरिनुपर्ने हो, सङ्घीय सरकार वा सिंहदरबारको तर्फबाट त्यो पर्याप्त भएन कि, त्यो संवेदनशीलता पर्याप्त होइन कि भनेर हामीले जानकारी गरायौं।"  

साउन १४, २०८३ बिहीबार १८:२१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।